– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अहिले सेयर बजारमा पुस मसान्तको प्रभाव कम हुँदै गर्दा दैनिकजसो हरियाली छाउन थालेको छ। बजार झन्डै २२६० को विन्दुमा लोेअर लो बनाएर फर्किएको छ।
बजारमा अहिले सूचकमात्रै नभएर कारोबार पनि बढेको छ। पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु बजार पस्न थालेकोले सेयर बजारमा बढोत्तरी आइरहेको भन्ने पनि धेरै छन्।
प्राविधिक रुपमा पनि विभिन्न अल्पकालीन औजारहरुले बजार बुलिस नै देखिन्छ। सामान्यतया सेयर बजार एउटा नदीको गति र बाटोमा नागबेली आकार बनाउँदै अगाडि बढ्ने भएकोले घटबढ हुनु स्वाभाविक नै हो। अल्पकालमा तलमाथि जे भए पनि दीर्घकालमा भने नेपालको सेयर बजार अझै धेरै बढ्न बाँकी रहेको केही दीर्घकालीन औजार जस्तै– इलिअट वेभबाट प्रस्ट हुन्छ।
मैनबत्ती विश्लेषणका आधारमा
सेयर बजारको चार्टमा आज र हिजो बनेको मैनबत्ती चार्टलाई नियाल्दा बजार बुलिस यात्रामा चलेको देखिन्छ। आइतबारको कारोबारमा प्रस्ट रुपमा हरिया बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। आजको क्यान्डलले भने केही माथि छोटो पुच्छर बनाएकोले आज नाफाबुक भएको जनाउ दिन्छ। तर, पनि पुच्छरभन्दा क्यान्डलको बडी लामो भएकोले बजारमा खरिदकर्ता सक्रिय र बजार आगामी दिनमा इन्ट्राडे करेक्सन हुँदै अगाडि नै बढ्ने सम्भावना देखिन्छ। (हेर्नुहोस् कालो एरो)
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। बजारको हालको तल्लो विन्दु २२६० देखि इलिअट वेभबाट अहिलेको बजारलाई नियाल्दा माइनर डिग्रीको वेभ (i) लगभग २४९५ सम्म बनेको देखिन्छ। त्यसपछि करेक्सन भएर वेभ (ii) २३४२ सम्म आएको र वेभ (iii) मा बढोत्तरी आएर २६१५ सम्म पुगेको देखिन्छ। वेभ (iv) मा पुनः करेक्सन भएर २५०० सम्म आएको देखिन्छ। अब वेभ (v) मा फिवोनासीको २.६१ को बढोत्तरीले २७६० सम्म हालको बढोत्तरी पुगेपछि एउटा चक्र सकिन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २५४६ विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २४९३ को विन्दुसम्म, ०.५ को टेवामा २४४९ विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २४०५ विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गत डिसेम्बर २२ मा बुलिस क्रसओभर भएको देखिन्छ। जुन हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्रामहरु सकारात्मक र लामा–लामा भएकोले अहिलेको बढाइ अझै केही समय टिक्न सक्ने देखिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अपर ब्यान्डलाई छुन खेजेको तर मध्य रेखाभन्दा माथि नै रहेको देखिन्छ। मध्य रेखाभन्दा माथि रहुन्जेल बजार बुलिस नै भएको अनुमान लगाउन सकिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ५६ को तहमा रहेको छ। जसको अर्थ हुन्छ– न्युट्रल जोनमा छ। अघिल्लोपटक यो विन्दु ६० को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई १९ मा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। यदि आगामी कारोबारमा ६० भन्दा माथि जान्छ भने बजार थप बुलिस हुन सक्ने देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध १– २५९८
प्रतिरोध २– २६७२
प्रतिरोध ३– २७२८
पिभट प्वइन्ट : २५४२
घटेमा सपोर्ट
सपोर्ट १– २४६८
सपोर्ट २– २४१२
सपोर्ट ३– २३३८
निष्कर्ष
प्राविधिक रुपमा यो साताको चार्टलाई अल्पकालीन तथा दीर्घकालीन औजारहरुमार्फत केलाउँदा अबको साताभित्रै बजार लगभग २७६० को विन्दुसम्म पुग्न सक्ने देखिन्छ। त्यसपछि एबीसीमा केही करेक्सन आएपछि बजारले पुनः नयाँ चक्रको सुरुआत गर्न सक्ने देखिन्छ।
तस्बिर याँहा राख्ने
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago