– प्रकाश न्यौपाने

काठमाण्डौ । हिजोआज क्लब हाउस र ब्रोकर हाउसमा सेयर बजारको आधारभूत विश्लेषणभन्दा प्राविधिक विश्लेषणको बढी चर्चा हुन थालेको छ। 

अझ ब्रोकर हाउसमा प्राविधिक रुपमा बजारको सपोर्ट र रेसिस्टेन्ट तथा प्राविधिक चार्टमा बन्ने ‘डब्ल्यू’ र ‘एम’ आकारको बढी चर्चा हुने गरेको छ। ब्रोकर हाउसमा पुग्ने लगानीकर्ताहरु बजार घटबढ भइरहेको बेला बजारले कुन आकार बनाउँछ भनेर डिस्प्लेमा हेर्ने गर्छन्। 

ब्रोकर हाउसमा राखिएका डिस्प्लेमा लगानीकर्ताले कुनै बेला बजारलाई निहाल्ने र कुनै बेला बजारको प्राविधिक चार्ट निहाल्दै खरिदबिक्रीको निर्णय लिने गरेका छन्। बजारको ‘डब्ल्यू’ आकार बनेको बेला खरिद र ‘एम’ आकार बनेमा बिक्रीका लागि तयार हुनुपर्ने लगानीकर्ताहरु बताउँछन्।

पुराना लगानीकर्ता नितेश कोइराला प्राविधिक ज्ञान बढाउनु राम्रो कुरा रहेको बताउँछन्। ‘तर, हाम्रो बजारमा प्राविधिक विश्लेषणका आधारमा कारोबार गर्नेमा कमाउनेभन्दा गुमाउने धेरै छन्’, कोइरालाले भने, ‘प्राविधिक चार्ट हेरेर कारोबार गर्नेहरुका कारण अहिले दीर्घकालीन लगानीकर्तालाई असर परेको छ।’

कोइराला अहिले बजारमा ७० प्रतिशत अल्पकालीन र ३० प्रतिशतमात्रै दीर्घकालीन लगानीकर्ता रहेको अनुमान गर्छन्। ‘पहिले दीर्घकालीन लगानीकर्ता बढी थिए’, उनले भने, ‘अहिले अल्पकालीन लगानीकर्ता हावी हुँदा बजारको लयसमेत प्रभावित बनेको छ।’

बजार केही माथि जान लाग्दा नाफा बुक गरिहाल्ने परिपाटी अहिले बजारमा हावी भएको कोइरालाको भनाइ छ। ‘यसले बजारको स्वाभाविक लयलाई बिथोलेको देखिन्छ’, उनले भने, ‘जसका कारण दीर्घकालीन लगानीका लागि योजना बनाउने लगानीकर्ताहरुसमेत हतोत्साहित भएको देखिन्छ।’ 

प्राविधिक विश्लेषणकै भरमा लगानी गरेकाहरु धेरैजसो डुबेको अवस्था पनि प्रशस्तै रहेको कोइराला बताउँछन्। ‘३२०० को बुलमा केही नाम चलेका प्राविधिक विश्लेषकहरुले अब बजार ६००० सम्म पुग्ने अनुमान गरेका थिए’, उनले भने, ‘त्यही अनुमानका भरमा त्यतिबेला सेयर खरिद गरेकाहरु अहिले पनि ठूलो घाटा व्यहोरिरहेका छन्। त्यतिबेलाको प्राविधिक पक्षबाट हेर्दा सही थियो होला तर राष्ट्र बैंकले ल्याएको नीतिका कारण बजार १८०० सम्म झर्यो।’

विगतमा आधारभूत विश्लेषणमात्र गरेर सेयर कारोबार गर्ने लगानीकर्ताहरुसमेत अहिले प्राविधिक विश्लेषण गरेरमात्र कारोबार गर्न थालेको एक ब्रोकर सञ्चालक बताउँछन्। ‘बजार चलिरहेको बेला क्लब हाउसमा हुने बजारसम्बन्धी प्राविधिक विश्लेषणले लगानीकर्ताहरुमा अन्यौलता छाएको देखिन्छ’, ती सञ्चालकले भने, ‘किनकि क्लब हाउसमा चल्ने छलफलमा बजार घट्ने र बढ्ने अनुमान गर्नेहरु बराबरजस्तै देखिन्छन्। त्यसैले कम्पनीका आधारभूत पक्ष राम्ररी अध्ययन नगरी प्राविधिक विश्लेषणकै भरमा लगानी गर्नु सुरक्षित देखिँदैन।’

एक प्राविधिक विश्लेषक नेपालको सेयर बजारमा प्राविधिक विश्लेषककै भरमा कारोबार गर्नु सुरक्षित नरहेको बताउँछन्। ‘यहाँ सेयर बजार परिवक्व भइसकेको अवस्था छैन, बजार प्राकृतिक ढंगले चल्ने वातावरण छैन’, ती विश्लेषकले भने, ‘यहाँ राजनीतिक र आर्थिक घटनाक्रमले पनि बजार प्रभावित हुने गरेको छ। त्यसैले दिनभरको बजार हेरेर प्राविधिक विश्लेषण गरी भोलि बजार घट्ने वा बढ्ने अनुमानमा रातारात आउने पोलिटिक डिसिजन, नेताका बोली र राष्ट्र बैंकजस्ता नियमनकारी निकायका नीतिले ठूलो फेरबदल हुन सक्छ।’