काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रिओपन सेसनका विषयमा अध्ययन गरी एक प्रतिवेदन नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरेको छ ।

नेप्सेमा उपलब्ध प्रिओपन सेसन प्लेटफर्म(बिहान १०ः३० देखि १०ः४५ सम्म कुनै पनि कम्पनीको हिजोको अन्तिम मूल्यमा ५ प्रतिशत घटबढ गरी खरिद र बिक्री अर्डर दिन मिल्ने व्यवस्था)  बन्द गर्नुपर्ने मागहरु उठिरहेको बेला नेप्सेले अध्ययन गरी बोर्डसमक्ष रिपोर्ट पेश गरेको हो।

नेप्सेस्थित स्रोतका अनुसार बजारमा प्रिओपन सेसनमा चलखेल र लगानीकर्ताहरु फसे भन्ने हल्ला निराधार देखिएको छ । 

पछिल्लो समय सेयर किनबेचमा अनलाइन कारोबारीहरु बढ्दै गइरहेका र लगानीकर्ता स्वयम्ले घरबाटै उच्च जोखिम र नाफालाई मध्यनजर गर्दै सेयर किनबेचको अर्डर गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । संसारभरि नै प्रिओपन सेसनको व्यवस्थाले सेयर बजारमा थप रौनकता र रोमाञ्चकता अभिवृद्धि भइरहेको स्रोतको जिकिर छ । 

‘प्रिओपन सेसनबाट लगानीकर्ताहरुले घाटाभन्दा पनि फाइदा पनि लिइरहेका छन्।’स्रोतले बिजशालासँग भन्यो–‘ एउटै ब्रोकर कम्पनीका औसतमा ५०० हाराहारी लगानीकर्ताले हाल प्रिओपन सेसनमा सहभागिता जनाइरहेकाले चलखेल हुनै नसक्ने देखिन्छ ।’

प्रिओपन सेसन नेप्सेले सुरुवातदेखि नै व्यवस्था गरेको हो । यो व्यवस्था हाल धेरै प्रयोग हुनु्मा अनलाइन कारोबार प्रणालीलाई नै श्रेय जान्छ । 

स्टक ब्रोकर कम्पनीसँग कारोबार प्रणालीको सीमित लगइनबाट धेरै लगानीकर्ताहरु यो सेसनमा सहभागिता जनाउन असमर्थ रहेका थिए, तर अनलाइन युजर र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीबाट प्रिओपन सेसनमा स्वयम् लगानीकर्ताहरु बिस्तारै आकर्षित हुँदै गइरहेका देखिन्छन् । 

सेयर बजार अनिश्चितता र जोखिमको तहमा आधारित भएकाले नेप्सेमा उपलब्ध प्रिओपन सेसनले सेयर बजारको गरिमा र महत्व बढाउने जानकारहरुको दाबी छ ।