काठमाण्डौ । अहिले ३ वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।
रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम थप गरी आईपीओ निष्कासन गरिरहेका हुन्। यी कम्पनीले प्रथम चरणमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुलाई आईपीओ बिक्री खुला गरिरहेका छन्।
नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएबमोजिम सन नेपाल, रिलायबल नेपाल, सिटिजन लाइफ र आइएमई लाइफले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका हुन्। जसमध्ये आइएमई लाइफले दुई चरणमा आईपीओ जारी गरी बाँडफाँडसमेत गरिसकेको छ।
रिलायबल नेपाल लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी कुल २५७ रुपैयाँ, सिटिजन लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँ र सन नेपाल लाफइले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप प्रिमियम गरी कुल २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो।
सीडीएस एन्ड क्लियरिङका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा सिटिजन लाइफको आईपीओ अझै ३० प्रतिशतले बिक्री हुन बाँकी रहेको छ। अहिलेसम्म कम्पनीको आईपीओमा ११ हजार ९१९ जना आवेदकको आवेदन परेको छ। वैदेशिक रोजगारमा गएका नेपालीका लागि छुट्याइएको १० प्रतिशत कोटाअनुसार सिटिजन लाइफले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरेकोमा मंगलबार साँझ ५ बजेसम्म ८ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको हो।
त्यस्तै रिलायबल नेपाल लाइफको आईपीओमा भने मागभन्दा बढी आवेदन परिसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि कुल १२ लाख कित्ता आईपीओ बिक्री गरेकोमा मंगलबार साँझ ५ बजेसम्म १२ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा १७ हजार १२७ जनाले आवेदन दिएका छन्।
यसैगरी सन नेपाल लाइफको आईपीओ पनि ६७.६५ प्रतिशतले बिक्री हुन बाँकी रहेको छ। मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ८ हजार ७७७ जनाले कुल ५ लाख ७२ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन्।
यो कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि कुल ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरिरहेको छ।
यी आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago