– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मीले नेप्सेको यही प्रणाली रहेसम्म मार्जिन कारोबार सञ्चालनमा आउन नसक्ने दाबी गरेका छन्। 

क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०)का सञ्चालकसमेत रहेका रेग्मीले मार्जिन कारोबारका लागि सबैभन्दा पहिले दर्ता र नवीकरण गर्ने आफू नै रहेको दाबी पनि गरे। ‘तर, म अहिले मार्जिन कारोबार गर्न सक्ने अवस्थामा छैन’, उनले भने, ‘मार्जिन कारोबार सुरु गरेपछि जसोतसो स्रोत जुटाउन सकिन्थ्यो होला। तर, त्योभन्दा पनि केही कानुनी प्रावधान र प्रणालीकै अभाव हो। मुख्य त नेप्सेको अहिलेको सिस्टम नै बाधक छ।’

नेप्सेको टीएमएसमा मार्जिन कारोबारका लागि फिचर नभएको र अब राख्दा पनि कम्तीमा ६ महिना लाग्न सक्ने रेग्मीको तर्क छ। ‘नियमित कारोबार र मार्जिन कारोबारको हिसाब विवरण राख्ने सिस्टम अलगै हुनुपर्छ’, उनले भने, ‘यस्तो भएमा ग्राहकको मार्जिन कारोबार बुझ्न हामीलाई सहज हुन्छ। मार्जिन कारोबारको हामीले म्यानुअल हिसाब राख्नुपर्यो भने त्यो सम्भव हुँदैन। यसलाई प्रणालीले नै छुट्याउनुपर्छ।’

मार्जिन कारोबारमा ७० प्रतिशत ब्रोकरले व्यहोर्नुपर्ने भएका कारण जोखिम बढी रहेको पनि रेग्मीले बताए। ‘ब्रोकर सुरक्षित हुने गरी कार्यविधि आउनुपर्छ’, उनले भने। 

ऋण दिएकोभन्दा तल्लो मूल्य आएमा ब्रोकरले तुरुन्तै बेच्न पाउनुपर्ने कार्यविधि तथा कानुन आवश्यक रहेको  रेग्मीको भनाइ छ। ‘दैनिक घट्दा दिनमै १० प्रतिशत घट्न सक्छ’, उनले भने, ‘त्यसैले तुरुन्तै मार्जिन कल गर्न पाउनुपर्छ।’