काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार एकाएक सेयर कारोबार बढ्यो ।

अघिल्लो दिन सरदर १ अर्बदेखि १ अर्ब ५०करोड भएको कारोबार यो दिन भने करिब २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । जसमा १ अर्ब १ करोड रुपैयाँभन्दा बढीको त प्रोमोटर सेयर अर्थात् संस्थापकतर्फको  म्यानुअल  कारोबार भएको छ । प्रोमोटर सेयरतर्फ पनि यो दिन सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ८७ करोड रुपैयाँ बराबरको  सेयर कारोबार भएको छ ।

उक्त कम्पनीको सेयर बिक्री गरेर नेपाल इन्स्योरेन्स र विशाल ग्रूप बाहिरिएका छन् । केहि समयअघि नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर विशाल ग्रूप र नेपाल इन्स्योरेन्सले सूचना प्रकाशित गरी बिक्रीमा राखेका थिए । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार यो दिन नेपाल इन्स्योरेन्स र विशाल ग्रूपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको हो । 

नेपाल इन्स्योरेन्स र विशाल ग्रूपको नाममा रहेको नेपाल रिइन्स्योरेन्सको कुल २९ लाख ७९ हजार ४२४ कित्ता सेयर कुल ८६ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्से तथ्यांकमा उल्लेख छ । 

नेपाल इन्स्योरेन्सले कुल १९ लाख ७९ हजार २४२ कित्ता र विशाल ग्रूपले १० लाख कित्ता सेयर बिक्री गरेको स्रोतले बताएको छ । उक्त परिमाणको सेयर नेपाल इन्स्योरेन्सको सेयर हिमालयन लाइफ र विशाल ग्रूपको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको छ । 

नेप्सेका अनुसार नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयर यो दिनमात्रै ३१ पटक ट्रान्जेक्सन भएको छ । जसमा २० वटा कारोबार ब्रोकर नं. ६ बाट खरिद र ब्रोकर नं. ४ बाट बिक्री भएको देखिएको छ । 

त्यस्तै, तीन वटा कारोबार भने ४ नं. ब्रोकरबाट बिक्री भएको र सेयर ब्रोकर नं. ८ बाट खरिद भएको देखिएको छ । नेप्सेका अनुसार ८ वटा कारोबार ४ नं. ब्रोकरबाट बिक्री भएको र ब्रोकर नं. ४४ बाट सेयर खरिद भएको देखिएको छ ।

त्यसैगरि, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयर पनि १०० रुपैयाँ अंकित दरमा करिब ८ लाख कित्ता अर्थात् ८ करोड रुपियाँ बराबरको भएको छ । यो कम्पनीको सेयर अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ र दिपशिखा धितोपत्र स्टक ब्रोकर नम्बर बीच कारोबार भएको छ ।  उक्त कम्पनीको भने घरायसी नामसारी भएको स्रोतले बताएको छ । 

त्यसैगरि, कुमारी बैंक प्रोमोटर सेयरको पनि आज ब्रोकर नम्बर ४९ र ब्रोकर नम्बर ४५  बीच उच्च  कारोबार भएको छ । उक्त कम्पनी करिब ५लाख ४० हजार कित्ता सेयर अंकित मूल्य ११० रुपियाँका दरले दोस्रो बजारमा कारोबार भएको छ ।

स्रोतका अनुसार पछिल्लो पटक यसरी प्रोमोटर सेयर बिक्रीमा आउनुमा ठूला लगानीकर्ताले गर्जो टार्नु नै एउटा कारण हो । सेयर बजार जानकार गोबिन्द प्रसाद घिमिरेले पछिल्लो पटक प्रोमोटर सेयर बिक्रीमा आउनुमा कम्पनीले दिने प्रतिफल खस्कनु नै मुख्य कारण रहेको बताए  ।

उनका अनुसार संस्थापक सेयरधनीका लागि प्रोमोटर सेयरमा लगानीको हिसावबाट हेर्दा प्रतिफल राम्रो छैन । प्रोमोटर सेयरबाट उचित प्रतिफल नपाएपछि संस्थापक सेयरधनीले बिक्री गरेका पनि हुनसक्छन् । उनले भने, ‘अन्य ठाँउमा अवसर देखेर पनि बिक्री गरेर उनीहरु बाहिरिएकोे हुन सक्छ ।’

प्रोमोटर सेयरतर्फ १५ वर्ष पहिले पनि १०० रुपैयाँकै भाउ थियो, अहिले पनि त्यही छ । कम्पनीहरुले दिने लाभाँश दर पनि घट्दै जाँदा बोर्ड सञ्चालकमा बस्न चाहने बाहेक अरुले सेयर बिक्री गरेर बाहिरिएको हुन सक्ने उनको भनाइ छ ।