काठमाण्डौ । प्रभु बैक लिमिटेड कोष प्रवर्द्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढी आवेदन परेको छ। 

निष्कासित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैक लिमिटेडले १ करोड १२ लाख इकाइ र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाइ गत फागुन १८ गतेदेखि आज फागुन २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। यो योजनामा संस्थाहरुसहित सर्वसाधारणबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाइको लागि आवेदन परेको छ। यो आवेदन सर्वसाधारणहरुलाई छुटयाइएको भन्दा १.५५ गुणा बढीको आवेदन हो।

१० वर्ष अवधि रहेको बन्दमुखी योजना प्रभु स्मार्ट फन्डलाई केयर नेपाल लिमिटेडले केयर–एनपी एएमसी क्वालिटी ३ (एएमसी ३) रेटिङ प्रदान गरेको छ। 

क्यापिटलले रु. ८० करोड रकमबराबरको प्रभु स्मार्ट फन्ड नामको योजना निष्काशन गरेको भए पनि सामूहिक लगानी कोष निर्देशिका, २०६९ को नियम १५ को उपनियम ४ मा भएको व्यवस्थाअनुसार निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाइ माग भएमा निष्कासन गरिएको इकाइ संख्याको २५ प्रतिशतसम्म थप गरी इकाइ बाँडफाँड गर्न सकिनेछ। यो व्यवस्था रहेकोले प्रभु स्मार्ट फन्डले बिजपुँजीसहित रु. १ अर्ब बराबरको इकाइ बाँडफाँड गर्ने भएको छ।

यस निष्काशनको अवधिमध्ये छोटो समयमा उल्लेखजनक रुपमा सहभागी भई उल्लेख्य मात्रामा आवेदन प्राप्त भएकोमा निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदक, सी–आस्बा सदस्य बैक तथा वित्तीय संसथाहरु, नियमक निकायहरु तथा सम्बन्धित सम्पूर्णलाई क्यापिटलले धन्यवाद दिएको छ।