काठमाण्डौ । कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। यो विधिबाट बिहीबार साँझदेखि उनको उपचार थालिएको हो। 

पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो। आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। 

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन्। 
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन। 

पूर्वराज, रानी र अधिराजकुमारी गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।