काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले केही फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ लन्च गरेको छ । 

बजारमा रहेका ५० वटा उत्कृष्ट प्रदर्शन गर्ने सेयरहरुमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ लन्च गरेको हो । 

यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको सेयरहरुमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड अहिलेसम्म नेपालमा थिएन । 

एनएमबी क्यापिटलका सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले एक वर्ष लामो रिसर्चपछि यो स्किम ल्याइएकोले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने र घट्दो बजारमा समेत लगानीकर्तालाई राम्रो प्रतिफल मिल्ने दाबी गरे । 

यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ भोलि(साउन १३ गते) बाट बिक्री खुला हुनेछ । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ । 

एनएमबी क्यापिटल विगत पाँच वर्षदेखि सफल म्युचुअल फन्ड व्यवस्थापन गर्ने अनुभवी मर्चेन्ट बैंक हो । 

एनएमबी क्यापिटलले यसअघि एनएमबी ‘सुलभ इन्भेस्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाइब्रिड फन्ड एल–१’ सञ्चालन गरिरहेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्डले विगत ४ वर्षको अवधिमा लगातार २० प्रतिशतभन्दा बढी दरको लाभांश वितरण गर्दै आएको छ । यो स्किमको प्रदर्शन नेप्से परिसूचककोभन्दा राम्रो छ । 

साढे ४ वर्षको अवधिमा समग्र सेयर बजारमा ४२ प्रतिशत प्रतिफलको तुलनामा यो योजनामा ८४ प्रतिशतको प्रतिफल इकाइधनीले पाउँदै आएका छन् ।

एनएमबी हाइब्रिड फन्डको प्रदर्शनसमेत नेप्से परिसूचकको भन्दा राम्रो छ । विगत २.५ वर्षको अवधिमा समग्र सेयर बजारमा २५.१ प्रतिशतको गिरावट आउँदा यो स्किमले १०.९ प्रतिशतको प्रतिफल वितरण गरेको देखिन्छ ।

‘एनएमबी–५०’को प्रक्षेपित लाभांश

एनएमबी–५० योजना सञ्चालनको पहिलो वर्ष सञ्चय वर्ष हुने र लाभांश भुक्तानी दोस्रो पूर्ण आर्थिक वर्षदेखि सुरु हुने एनएमबी क्यापिटलका सीईओ श्रीजेश घिमिरेले बताए। 

यो स्किमले दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरिएको छ ।