काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले केही फरक अवधारणासहित आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ का १२ करोड इकाइ आज सोमबारदेखि बिक्री खुला गरेको छ ।

यो म्युचुअल फन्डको प्रतिइकाइ मूल्य रु. १० अंकित १२ करोड इकाइ बिक्री खुला गरिएको हो । कुल इकाइमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १४ प्रतिशत इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाइ योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिनेछ ।

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ। 

बजारमा रहेका ५० वटा उत्कृष्ट प्रदर्शन गर्ने सेयरहरुमा लगानी गरी राम्रो लाभांश वितरण गर्ने उद्देश्यसहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ लन्च गरेको हो । 

यो म्युचुल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको सेयरहरुमा मात्र केन्द्रित हुनेछ । यस्तो अवधारणाको म्युचुल फन्ड अहिलेसम्म नेपालमा थिएन । 

एनएमबी क्यापिटलका सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले एक वर्ष लामो रिसर्चपछि यो स्किम ल्याइएकोले बजारमा तरलता प्रवाहमा समेत सहयोग गर्ने र घट्दो बजारमा समेत लगानीकर्तालाई राम्रो प्रतिफल मिल्ने दाबी गरे । 

एनएमबी क्यापिटल विगत पाँच वर्षदेखि सफल म्युचुअल फन्ड व्यवस्थापन गर्ने अनुभवी मर्चेन्ट बैंक हो । 

एनएमबी क्यापिटलले यसअघि एनएमबी ‘सुलभ इन्भेस्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाइब्रिड फन्ड एल–१’ सञ्चालन गरिरहेको छ । एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्डले विगत ४ वर्षको अवधिमा लगातार २० प्रतिशतभन्दा बढी दरको लाभांश वितरण गर्दै आएको छ । यो स्किमको प्रदर्शन नेप्से परिसूचककोभन्दा राम्रो छ । 

साढे ४ वर्षको अवधिमा समग्र सेयर बजारमा ४२ प्रतिशत प्रतिफलको तुलनामा यो योजनामा ८४ प्रतिशतको प्रतिफल इकाइधनीले पाउँदै आएका छन् ।

एनएमबी हाइब्रिड फन्डको प्रदर्शनसमेत नेप्से परिसूचकको भन्दा राम्रो छ । विगत २.५ वर्षको अवधिमा समग्र सेयर बजारमा २५.१ प्रतिशतको गिरावट आउँदा यो स्किमले १०.९ प्रतिशतको प्रतिफल वितरण गरेको देखिन्छ ।

‘एनएमबी–५०’ को प्रक्षेपित लाभांश

एनएमबी–५० योजना सञ्चालनको पहिलो वर्ष सञ्चय वर्ष हुने र लाभांश भुक्तानी दोस्रो पूर्ण आर्थिक वर्षदेखि सुरु हुने एनएमबी क्यापिटलका सीईओ श्रीजेश घिमिरेले बताए। 

यो स्किमले दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतको दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरिएको छ ।