– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा सबै खालका लगानीकर्ता समावेश भएका हुन्छन्। महिला तथा गृहिणी, विद्यार्थी र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुको पनि पुँजीबजारमा आबद्ध भएका हुन्छन्। 

सेयर बजार प्रविधिमैत्री भएपछि धेरैभन्दा धेरै लगानीकर्ता अबद्ध भएका छन्। अहिले डिम्याट खोल्नेको संख्या पनि ५० लाख नाघिसकेको अवस्थामा पुँजीबजारको दायर निकै फराकिलो बन्दै गएको छ। 

देश तथा विदेशबाट अनलाइनमार्फत कारोबार गर्नेको संख्या पनि बढ्दो रहेको छ। 

काठमाण्डौको अनामनगरमा बुधबारबाट सेयर बजारमा आबद्ध तथा भित्रिन चाहने फरक क्षमताका लगानीकर्तालाई सेयर प्रशिक्षण तालिम चलिरहेको छ। नेपाल सरकार र सनी सेक्युरिटिजको प्राविधिक सहयोग तथा स्वावलम्बन जीवनपद्धतिको आयोजनामा समृद्ध नेपाल लगानी समूहको समन्वयमा तीनदिने आधारभूत तथा प्राविधिक तालिम चलिरहेको हो। 

तालिममा देशभरिबाट शारीरिक रुपमा अपांगता भएका करिब ३० जना जति लगानकिर्ताको सहभागिता छ। फरक क्षमताका लगानीकर्ताले सेयर तालिमसँगै आफ्नो अनुभव पनि साटासाट गरेका छन्। 

तालिमका संयोजक एवं समृद्ध नेपाल समूहका अध्यक्ष पर्वत बिष्टले फरक क्षमता लगानीकर्तालाई वास्तविक ज्ञान दिन देशभरिबाटै समावेश गरिएको बताए। 

तालिममा सहभागी फरक क्षमताका इन्द्रप्रसाद उपाध्यायले आफू लामो समयदेखि राज्यलाई सहयोग गर्ने पुँजी निमार्णका लागि सेयर बजारमा आबद्ध भएको बताए। करिब १६ वर्षअघि प्रथामिक बजारमा प्रवेश गरेका उपाध्यायले सेयर कारोबारका लागि ज्ञान तथा तालिम आवश्यक रहेको बताए। ‘अनुमानभन्दा पनि अध्ययन गरेर सेयरमा लगानी गर्दा राम्रो हुन्छ’, उनले भने। 

अर्की महिला लगानीकर्ता सुजता लिम्बूले लकडाउनपछि सेयर बजारमा आएको बताइन्। ‘तालिम लिएर सेयर कारोबार गरेमा यही बजारबाट जीविकोपार्जन गर्न सकिन्छ’, उनले भनिन्, ‘मलाई पहिला सेयर बजार पैसा हुनेले मात्रै गर्ने ठाउँ भन्ने लाग्थ्यो। तर त्यस्तो रहेनछ। एक हजारले पनि काम चल्ने रहेछ।’

राष्ट्रिय अपांग संघका सदस्य सुगम भट्टराईको अनुभव भने अलि फरक छ। ‘सेयरमा लगानी गर्दा सबै पैसा एकैपटक लगानी नगरेर ब्याकअपमा पनि राख्नुपर्छ’, उनले भने। 

भदौ २ गतेको उच्च ३२०० को विन्दुमा परेपछि राम्रै शिक्षा मिलेको भट्टराईको अनुभव छ। भट्टराईले अपांगता भएकाहरुको तथ्यांक राखेर आईपीओमा आरक्षण दिनुपर्ने माग गरे। ‘अहिले अपांगता भएकाहरुले आफ्नो क्षमता देखाएर जीविकोपार्जन गरेको अवस्था छ’, उनले भने, ‘उनीहरुलाई पनि आरक्षण भएमा सेयर पाउने सम्भावना हुन्छ।’

विगत २० वर्षदेखि अपंगता भएकाहरुको हकहितमा लागेका गणेश केसीको अनुभव पनि उस्तै छ। पहिलो लकडाउनपछि सक्रिय रुपमा लागेका केसी अनुभवमा हल्लाको भरमा भन्दा आधारभूत तथा प्राविधिक रुपमा बुझेर लगानी गर्न उपयुक्त हुने बताउँछन्।