– अर्जुन तिमिल्सिना

काठमाण्डौ । बजार निरन्तर ओरालो लागेसँगै सुनसान बनेका ब्रोकर हाउस फेरि भरिभराउन हुन थालेका छन्। लामो समयपछि सेयर बजारको बाउन्स ब्याक भएसँगै ब्रोकर हाउसहरुमा पनि रौनक फर्किन थालेको हो। 

खासगरी पछिल्लोपटक नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि लगानीकर्तामा मनोबल बढेको पाइएको छ। सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)मा भेटिएकी मनु शर्मा भन्छिन्, ‘अघिल्लोपटक पनि पौडेल अर्थमन्त्री रहेको समयमा बजारले गति लिए थियो, त्यसैले उनी फेरि अर्थमन्त्री बनेपछि लगानीकर्ताको मनोबल बढेको छ।’ 

विशेषगरी सेयर बजार लगानीकर्ताको मनोविज्ञानले चल्ने शर्मा बताउँछिन्। ‘यही कारणले पनि लगानीकर्ता बजार अब बढ्नेमा विश्वस्त छन्’, उनले भनिन्, ‘अब ब्याजदर घट्ने र घर–जग्गाको कारोबारमा पनि सुधार आउने हो भने बजारले साँच्चिकै गति लिन सक्छ।’

आज बजार बढ्दै गर्दा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)मा पनि लगानीकर्ता खचाखच थिए । त्यहाँ भेटिएका लगानीकर्ता टेकेन्द्र ढकालले भने दुई दिनको बढाइमै बजार १०० अंकभन्दा माथि जानुमा केही शंका व्यक्त गरे। ‘न्युजले बजार केही दिनमात्रै बढ्ने हो’, उनले भने, ‘अहिले नै बजारमा पैसा आएको छैन। नीतिमा कुनै परिवर्तन पनि भएको छैन। यसरी बढी हाल्नुमा केही शंका गर्न सकिन्छ।’ 

कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)मा लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ भेटिएका अधिकांश लगानीकर्ता अब बजार बढ्नेमा ढुुक्क देखिन्थे। आजको कारोबारलाई लक्षित गर्दै लगानीकर्ता दीपेश पाण्डेले भने, ‘आज एकै घन्टामै एक अर्बभन्दा बढी कारोबार भयो। दिनभरमा ४ अर्बआसपासको कारोबार भएको छ।’

पाण्डेले आजको कारोबार हेर्दा बजारमा लुकेको पैसा भित्रिएको हुन सक्ने पनि आशंका गरे। ‘पौडेल अर्थमन्त्री बनेका छन्, बजारमा अब आशा गर्ने ठाउँ छ’, उनले भने। 

एक ब्रोकर हाउसका सञ्चालकले बजारमा लुकेको पैसा अब आउन सक्ने आँकलन गरेका छन्।