काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरेको छ। 

नेप्सेले यो संस्थाको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७६ रुपैयाँ कायम गरेको छ। यसअघि यो संस्थाको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६३१ रुपैयाँ कायम भएको थियो। अब यो संस्था सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ। 

संस्थाले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ९.५० प्रतिशतले हुने आउने ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर र ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश यही मंसिर १८ गते हुने संस्थाको ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज (मंसिर ५ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (मंसिर ४ गते) सम्म कायम सेयरधनीहरुमात्र संस्थाले प्रस्ताव गरेको लाभांश र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।