काठमाण्डौ । फाइजरको भ्याक्सिन लगाएकाहरुमा वास्तविक (मूल) कोरोनाभाइरसको तुलनामा यसको डेल्टा भेरियन्टका विरुद्ध कम एन्टीबडी विकास हुने तथ्य सार्वजनिक भएको छ।

हालै लान्सेन्ट जर्नलमा प्रकाशित रिपोर्टमा यस्तो तथ्य सार्वजनिक भएको हो। कोरोनाको डेल्टा भेरियन्टको पहिचान सबैभन्दा पहिले भारतमा भएको थियो। अनुसन्धानका अनुसार फाइजरको भ्याक्सिन लगाएकाहरुमा डेल्टा भेरियन्टविरुद्ध एन्टीबडीको स्तर पाँचगुणासम्म कम हुन सक्छ। 

अध्ययनमा कोरोनाको पहिचान र यसविरुद्ध लड्न सक्षम एन्टीबडीको यो स्तर बढ्दो उमेरसँगै मानिसहरुमा कम हुने र यो समय बित्दै जाँदा अन्त्य हुने उल्लेख गरिएको छ। अनुसन्धानको यो नतिजालाई संक्रमणको जोखिम अधिक भएकाहरुलाई बुस्टर डोज दिइनुपर्ने पक्षमा यसले अतिरिक्त बल पुर्याएको छ। 

यो अनुुसन्धानले फाइजर भ्याक्सिनको दुुई डोजबीचको अन्तराल कम गर्ने बेलायतको योजनालाई समेत बल पुुगेको छ। अध्ययनका अनुसार फाइजर भ्याक्सिनको पहिलो डोजपश्चात कोरोनाको बी.१.६१७.२ भर्जनका लागि एन्टीबडीको कममात्रा बन्ने सम्भावना हुन्छ भने बी.१.१.७ (अल्फा) भेरियन्टविरुद्ध अधिक एन्टीबडी बन्ने गर्दछ। 

बेलायतको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले एन्टीबडीको स्तरबाट मात्रै भ्याक्सिनको असर वा प्रभावका बारेमा स्पष्ट रुपमा कुनै दाबी गर्न नसकिने बताएका छन्। उनीहरुले यसका लागि निश्चित समूहका मानिसहरुमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्। – एजेन्सी