– अनन्त्य सुन्दर

काठमाण्डौ । सेयर बजारमा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) ८ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। 

समीक्षा अवधिको यो कारोबार गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा १०६.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म सेयर बजारमा ४ खर्ब २२ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उपलब्ध पछिल्लो तथ्यांकअनुसार १ अर्ब ७६ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ। गत वर्ष यही अवधिमा १ अर्ब ७ करोड ४२ लाख कित्ता सेयर कारोबार भएको थियो। 

कारोबार रकममा सर्वाधिक वृद्धि हुनेमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर सेक्टर  रहेको छ। गत वर्ष यही अवधिमा फाइनान्स सेक्टरको कारोबार रकम ६ अर्ब ६४ करोड रुपैयाँको कारोबार थियो। समीक्षा अवधिमा फाइनान्स सेक्टरको कारोबार रकम ११४८.२ प्रतिशतले वृद्धि भएर ८२ अर्ब ९० करोड रुपैयाँ भएको हो। 

त्यस्तै विकास बैंक समूहको कारोबार रकममा ६४० प्रतिशत र हाइड्रोपावर समूहको कारोबार रकममा ४८७ प्रतिशतले वृद्धि भएको हो।

वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटेल, हाइड्रोपावर, ट्रेडिङ लगायतका क्षेत्रको कारोबार रकममा उल्लेखनीय वृद्धि हुँदै गर्दा जीवन बीमा, निर्जीवन बीमा साथै अन्य क्षेत्रको कारोबार रकम भने घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बजारमा ११६ दिन कारोबार हुँदा औसत दैनिक कारोबार रकम ७ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। त्यस्तै यस आर्थिक वर्ष ३२५ वटा स्क्रिप्टको कारोबार भएको छ। ती स्क्रिप्टहरुको कारोबार संख्या ९५ लाख ३० हजार ४४२ रहेको छ। 

नेप्सेमा सूचीकृत कम्पनीहरुको सङ्ख्या २२५ रहेको छ।

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारीका अनुसार दीर्घकालीन लगानीकर्ताको तुलनामा ट्रेडरको आकर्षण फाइनान्स र हाइड्रोमा भएकाले कारोबार रकममा उल्लेखनीय वृद्धि भएको बताइन्। तिवारी भन्छिन्, ‘यी क्षेत्रमा सूचीकृत कम्पनीहरुको पुँजी थोरै छ। बजार घट्दा सबै क्षेत्र घट्छ। तर, बजार बढ्दा भने यी क्षेत्रका कम्पनीहरु छिटो र धेरै बढ्ने गरेका छन्।’

‘नेपाली सेयर बजार ट्रेडरहरु हाबी भएको बजार हो’, तिवारी भन्छिन्, ‘ठूलो संख्यामा यी क्षेत्रका कम्पनीहरुको कारोबार हुने गरेको छ। त्यसैले अन्य लगानीकर्ता पनि यिनै क्षेत्रमा आकर्षित भएका छन्।’ 

वित्तीय अवस्थामा बीमा, बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरु राम्रो भए पनि त्यति कारोबार हुन् नसकेको तिवारीले बताइन्। 

एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी लगानीकर्ताले कम्पनीहरुमा लगानी गर्दा विशेष गरेर दुईवटा लगानी रणनीति अपनाउने गरेको बताउँछन्। ‘ग्रोथ र भ्यालु’, उनले भने। 

दीर्घकालीन लगानीकर्ताहरुले धेरै पुँजी भएको कम्पनीहरुको भ्यालु हेरेर लामो समयसम्मका लागि लगानी गर्छन्। जस्तै– नेपालमा दीर्घकालीन लगानीकर्ताले बैंकहरुमा लगानी गर्ने गरेको पाइन्छ। ‘तर ट्रेडरहरुले कम्पनीको ग्रोथ हेरेर लगानी गर्छन्’, रायमाझी भन्छन्, ‘त्यसैले कम पुँजी भएका साना कम्पनीहरुको कारोबार रकमको रेटियो हेर्दा अन्यको तुलनामा धेरै कारोबार हुने गरेको छ।’ 

‘यस्ता कम्पनीहरुलाई ‘स्पेकुलेटिभ प्याराडाइस’ पनि भनिन्छ’, रायमाझीले भने।