काठमाण्डौ । कोभिड संक्रमणका कारण रोकिएका नेपाली श्रमिक फागुनको तेस्रो साता दक्षिण कोरिया जान पाउने भएका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका नेपाली श्रमिक कोरिया जान पाउने भएका हुन्। यही फागुुन २३ गते एकैदिन २३६ जना नेपाली श्रमिक कोरिया जाने वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन्। 

यसअघि कात्तिकदेखि सुुरु भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिक कोरिया गएका थिए। ईपीएसमार्फत कोरिया गएर ४ वर्ष १० महिना काम गरेर समयभित्रै फर्केकालाई प्रतिबद्ध श्रमिक भनिन्छ। 

ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब ७ हजार र प्रतिबद्ध श्रमिकतर्फबाट ३ हजार गरी १० हजार श्रमिक कोरिया जान छनोट भएका छन्। यीमध्ये १ हजार ७१ युवा कोरिया प्रवेश गरिसकेका छन्।