काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले यही फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५प्रतिशतले हुन आउने ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँबराबरको बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ९८ हजार ७५० कित्ता बिक्री गर्नेछ। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकिएको छ। अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

सानिमा मिडिल तमोरको आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।