काठमाण्डौ । साताको दोश्रो कारोबार दिन पनि बजारमा छाएको निराशाको कालो बादल फाँट्न सकेन । लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा बजार सोमबार पनि दोहोरो अंकले घटेर १५ सय नजिक आइपुुगेको हो । 

नेप्से परिसूचक आइतबारको तुलनामा केही कम अंकले घटेसँगै कारोबार रकम पनि केही बढेका कारण बजार अस्वभाविक गतिमा नरहेको र तत्काल ह्वात्तै बढ्नसक्ने संभावना समेत नरहेको विज्ञहरुको भनाई छ । 'बजार केही दिनसम्म अझै तल झर्नसक्छ ।' एक विश्लेषकले भने-'अहिलेको बजार वियरिस टेण्डमा छ, यो क्रम तत्काल रोकिन्न ।' 

तर केही पुराना लगानीकर्ता भने बजार चाँडै उकालो लाग्ने दाबी गर्दै अत्तालिन नहुने सुुझाव दिइरहेका छन् । बजारको घट्दो गतिले नयाँ लगानीकर्ताहरु चाहि बढी तर्सिएका छन् । बजारको सामान्य घटबढ स्वभाविक रहेको भन्दै कतिपय विश्लेषकहरुले चाहि नअत्तालिन लगानीकर्तालाई अपील गरेका छन् । 

सोमबार नेप्से परिसूचक १३.३७ अंकले घट्यो । आइतबार २२ अंक बढीको गिरावट आएको थियो । आइतबार ४० करोडको मात्र कारोबार भएको बजारमा सोमबार भने ५५ करोडको हाराहारीमा सेयर किनबेच भयो । एभरेष्ट बैंकले वार्षिक साधारणसभा र बुक क्लोजको मिति तोकेका कारण सबैभन्दा बढी सोही कम्पनीले कारोबार गर्यो । करिब १० करोडको कारोबार एभरेष्ट बैंकले गर्यो । यो कारोबारलाई छाडेर स्वभाविक अवस्थालाई हेर्ने हो भने कुनै पनि कम्पनीमा लगानीकर्ताको चाप देखिएको छैन । यसको अर्थ हो एक दुुई दिनमै बजारमा चमात्कारिक सुधार हुने अवस्था छैन । 

सोमबार दुुई समूहमा सामान्य बढोत्तरी बाहेक सबैमा रातो पोतियो । वाणिज्य बैंक समूह १६.६२ अंकले घट्यो भने बिमा समूह ६७.६४, विकास बैंक १२.६३, बित्त २.३१, जलविद्यूत ४.१७, उत्पादनमूलक १७.२७ अंकले घटे । होटलमा ०.०१ र अन्य समूहमा २.०३ अंकको झिनो बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
एभरेष्ट बैंकले १० करोडको हाराहारीमा कारोबार गर्दा सिद्धार्थ बैंकले ३ करोड ६८ लाख मात्र गर्यो । एनबी बैंकले २ करोड २५ लाख, एशियन लाइफ इन्स्योेरेन्सले १ करोड ८२ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले १ करोड ६९ लाख, एनएमबी बैंकले १ करोड ५३ लाखको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंक र बाँकी ३ स्थानमा बिमा कम्पनीले कब्जा जमाए । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार बियरिस गतिमा कुदिरहँदा पनि २ कम्पनीले पनि पैसा छापे । हिमालयन डिस्टीलरी लिमीटेड र एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । हाम्रो विकास बैंकका लगानीकर्ताले ४.४७ प्रतिशतले सम्पत्ति बढाए । 

सबैभन्दा बढी सिर्जना फाइनान्स बित्तीय संस्थाले गुमायो । यो कम्पनीको सेयर मूल्य ७.५२ प्रतिशतले घट्यो । यस्तै, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो । वरुण हाइडोपावरको सेयर मूूल्य साढे ५ प्रतिशतको हाराहारीमा घट्यो ।