काठमाण्डौ । खरीदकर्ता र बिक्रीकर्ता नै ‘पर्ख र हेर’को अवस्थामा बस्दा सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । साताको दोश्रो कारोबार दिन सोमबार पनि बजार परिसूचक १५.६६ अंकले घटी नेप्से परिसूचक १३४८.८४ अंकमा झरेको छ । आइतबारको तुलनामा सोमबार कारोबार पनि घटेको छ । 

बजार बढ्ने आशामा रहेका तमाम लगानीकर्ताहरुलाई दिनहुँको घट्दो बजारले तनाव दिन थालेको छ । एकैदिन लाखौं रुपैयाँ गुमाउनुपर्ने पीडाका कारण धेरै लगानीकर्तामा मनोबल गिरेको विश्लेषकहरुले बताएका छन् । 

सोमबार अन्य समूहमा झिनो बढोत्तरी बाहेक बाँकी सबै समूहको सूचकमा पहिरो गयो । सबैभन्दा बढी बिमा समूहको सूचक १२४.३ अंकले घट्यो भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूहमा क्रमशः  १५.९६, १४.१३ र ९.१२ अंकको गिरावट देखियो । होटल समूह ४८.९४ अंकले घट्यो भने जलविद्युत समूहमा ४.६६ अंकको गिरावट भयो । 

'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.३३ अंकले घट्दा समग्र कारोबार मापक फ्लोट इण्डेक्समा  १.३२ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार  १३४ कम्पनीको ६ लाख २७ हजार ८ सय ४० कित्ता सेयर २३ करोड ६१ लाखमा किनबेच भयो । यो दिन तीन कम्पनीले मात्र १ करोड हाराहारीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीमध्ये ७ वटाले १ करोड भन्दा कमको कारोबार गरे । 

सबैभन्दा बढी प्रभूू बैंकको १ करोड ३५ लाख बढीको सेयर किनबेच भयो । यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको १ करोड १५ लाख, एनबी बैंकको १ करोड ७ लाख बराबरको कारोबार भयो । धेरै कारोबार गर्ने १० कम्पनीमा ६ स्थान वाणिज्य बैंकले, एक स्थान बिमा, एक स्थान जलविद्युत, एक स्थान विकास बैंक र एक स्थान अन्य समूहमा आबद्ध कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार २३ कम्पनीको मात्र सेयर मूूल्य बढ्यो, बाँकी सबै समूहको सेयर मूल्य घट्यो । सबैभन्दा बढी मञ्जुश्री फाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, महालक्ष्मी विकास बैंक लिमीटेडको सेयर मूल्य ३.५३  प्रतिशतले बढ्यो भने जेबिल्स फाइनान्स र लुम्बिनी फाइनान्सको सेयर मूल्य क्रमशः ३.४८ र ३.४३ प्रतिशतले वृद्धि भयो । 

सोमबार सबैभन्दा बढी यूनाइटेड फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घट्यो । यस्तै, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.६४ प्रतिशतले बढ्यो ।