काठमाण्डौ । सेयर बजार मंगलबार फेरि ओरालो लागेको छ।
बजार आज ३७.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५०८.९० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.८५ अंकले घटेर ४७४.१३ को विन्दुमा झरेको छ। कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
शाइन रेसुंगा डेभलमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट नियामक निकाय अहिलेको अवस्थामा मौन बस्दा लगानीकर्ताहरुको मनोबल गिरेको बताउँछन्। ‘यी कारणले बजार लयमा फर्किन नसकेको हो’, उनले भने।
हिजो प्राविधिक हिसाबले लगानीकर्ताले कारोबार गर्दा बजार बढेको बिष्टको तर्क छ। ‘बजार लयमा फर्किन बजार नियामकबाट लगानीकर्तालाई आश्वस्त पार्ने खोल वक्तव्य आउन जरुरी छ’, उनले भने, ‘यदि नियामकले त्यसो गरेमा लगानीकर्ताको मनोबल बढ्नुका साथै बजारले पनि गति लिनेछ।’
अहिले तरलता संकट, सरकारी खर्च नबढ्नु, ब्याजदर बढ्नु आदि कारणले बजार प्रभावित भइरहेको बिष्टको भनाइ छ। ‘बेलैमा सम्बन्धित निकायले बजार नियन्त्रणका लागि उचित कदम नचाले अवस्था जटिल बन्न सक्छ’, उनले भने।
अहिलेकै अवस्था रहने हो भने बजार अझै केही दिन साइडवेजमा चल्न सक्ने बिष्टको भनाइ छ।
सक्रिय लगानीकर्ता रोहन कार्की बजार घट्नुको मुख्य कारण ब्रोकरहरुको दादागिरी नै रहेको बताउँछन्। ‘हिजो फर्किएको बजार फेरि आज घट्नुपर्ने कारण थिएन’, उनले भने, ‘अहिले ब्रोकरहरुले लगानीकर्ताहरुलाई बजार अझै घट्छ भन्दै सेयर किन्न निरुत्साहित गर्ने, लिमिट नराख्ने आदि कारणले बजार प्रभावित भएको हो।’
बजारले यसअघिका सबै कुरा पचाइसकेको उल्लेख गर्दै कार्कीले अहिले बजार घटाउने खेलमा ब्रोकर नै लागेको दाबी गरेको छ। ‘त्यसैले नियामकले यस्ता चलखेल रोक्नुपर्छ, लगानीकर्ताको मनोबल बढाउने काम गर्नुपर्छ’, उनले भने, ‘अन्यथा बजार अझै केही दिन साइडवेजमै चल्न सक्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा मात्रै हरियाली छाएको छ।
यो दिन व्यापार र म्युचुअल फन्ड समूह समान ०.८२ प्रतिशतले उकालो लागेको छ।
आज वित्त समूह सर्वाधिक ३.८६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.९९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.७९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६२ प्रतिशत, जलविद्युत समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.५५ प्रतिशत, अन्य समूहमा २.८४ प्रतिशत, लघुवित्त समूहमा १.४७ प्रतिशत, जीवन बीमा समूहमा ०.५५ प्रतिशत र लगानी समूहमा ०.९४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ८३ लाख ३० हजार ९३ कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १२ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज आईसीएफसी फाइनान्सको ११ करोड १ लाख रुपैयाँ, अपी पावरको १० करोड ४० लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ४४ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड ७ लाख रुपैयाँ, नेपाल टेलिकमको ८ करोड ३५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ५५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ५० लाख रुपैयाँ र अरुण काबेली पावरको ६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज सिभिल लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन आईसीएफसी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो फाइनान्सको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19