काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारले नयाँ कीर्तिमानी उचाइ चुमेको छ।
आज नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गदै नयाँ उचाइ चुम्न सफल भएको हो। नेप्से आज २९.५५ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाइ २८५६.६७ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.११ को विन्दुको उचाइमा पुगेको छ।
योसँगै नेप्सेले गत आइतबारको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ। गत आइतबार नेप्सेले २८२७.९३ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।
यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ह्वात्तै बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बैंकिङ सेक्टरमा चमक आएसँगै बजारले रफ्तार लिएको बताउँछन्। ‘बजार अझै बढ्न बाँकी नै रहेको छ’, उनले भने, ‘त्यसैले कमाउने अवसर अझै छ, बुझेर लगानी गर्दा पक्कै राम्रो प्रतिफल प्राप्त हुन्छ।’
बैंक ब्याजदर कम हुनु, तरलता सहज हुनु र बजारको चक्र बुलिस नै रहनुले बजार सकारात्मक नै रहने घिमिरेको तर्क छ। ‘केही दिनअघिको १–२ वटा करेक्सनले बजार थप मजबुत बनेको देखिन्छ’, उनले भने, ‘चौतर्फी महौल रहेकोले बजार नकारात्मक हुने सम्भावना नै छैन।’
अहिलेको अवस्थामा बैंकमा लगानी सुरक्षित रहेको उल्लेख गर्दै घिमिरेले भने, ‘त्यसैले लगानीकर्ताहरुले बैंकका सेयर धमाधम उठाइरहेका छन्।’
सक्रिय लगानीकर्ता पर्वत बिष्ट कारोबार रकमले साथ दिएकोले बजार तत्काल तल जाने सम्भावना नरहेको बताउँछन्। ‘कारोबार र भोलुम हेर्दा बजारले ३१०० को विन्दु छिटै पार गर्ने देखिन्छ’, उनले भने।
निषेधाज्ञा अवधि बढेकै कारण पनि सेयर बजार थप उचालिएको हुन सक्ने बिष्टको तर्क छ। ‘किनकि निषेधाज्ञा रहेसम्म अन्य क्षेत्रमा लगानी जाँदैन, सेयर बजारमै लगानी भित्रिने हो’, उनले भने, ‘त्यसैले बजार अझै माथि जाने सम्भावना प्रबल छ।’
निषेधाज्ञापछि भने केही दिन बजारमा करेक्सन आउन सक्ने बिष्टको अनुमान छ। ‘तर पछि फेरि बजार बढ्ने नै हो’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो दिन विकास बैंक समूह सर्वाधिक १४६.०२ अंकले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ११७.११ अंकले बढेको आज बैंकिङ समूहमा ५०.२५ अंक, होटेल तथा पर्यटन समूहमा ११७.११ अंक, वित्त समूहमा ६२.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१.२४ अंक, लघुवित्त समूहमा ४०.३५ अंक, जीवन बीमा समूहमा ५.१२ अंक, म्युचुअल फन्ड समूहमा ०.१९ अंक र लगानी समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।
यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ११३.३ अंकले ओरालो लागेको छ। जलविद्युत समूह ६०.०३ अंकले घटेको आज व्यापार समूहमा ९.६८ अंक र अन्य समूहमा १५.९१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ३ लाख ४६ हजार ९१ हजार ३१२ कित्ता सेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब २ करोड रुपैयाँ बढीको कारोबार भएको छ। छिमेक लघुवित्तको ६८ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख रुपैयाँ, निफ्राको ३३ करोड १३ लाख रुपैयाँ, शिवम् सिमेन्टको ३२ करोड ५० लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २९ करोड ९६ लाख रुपैयाँ, ज्योति विकास बैंकको २९ करोड ८२ लाख रुपैयाँ, मेगा बैंकको २९ करोड ६ लाख रुपैयाँ र कुमारी बैंकको २८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स बैंकको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।
यो दिन पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago