काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। 

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो। योसँगै अब अब प्रतिलिटर पेट्रोल १५५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १३८ रुपैयाँ पुगेको छ। पेट्रोल र डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च पनि हो। 

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढेको छ। हवाई इन्धन प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० डलर बढेको छ। योसँगै प्रतिकिलोलिटर मूल्य १४९५ अमेरिकी डलर पुगेको छ। 

खाना पकाउने एलपी ग्यासको मूख्य भने बढेको छैन। 

मूल्यवृद्ध गरे पनि पेट्रोलमा प्रतिलिटर २८.५७  रुपैयाँ र डिजेलमा ३२.१५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। मट्टीतेलमा भने निगमलाई प्रतिलिटर २४.३४ रुपैयाँ नाफा रहेको छ। एलपी ग्यासमा पनि प्रतिसिलिन्डर निगमलाई ६६.३४  रुपैयाँ घाटा रहेको निगमको दाबी छ। हवाई इन्धनमा पनि निगमलाई नाफा छ।

मूल्य समायोजनपछि निगमको पाक्षिक (१५ दिन) को घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमको अनुमान छ।