काठमाण्डौ । निकै धेरै कम्पनीले तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको दिन दोश्रो बजार समेत प्रभावित भएको छ । यो दिन राम्रो नाफा कमाएर स्वस्थ वित्तीय विवरण पस्किने कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से परिसूचक बढेर पुनः १३ सय माथि पुगेको हो । 

निकै दिनसम्म १३०० मुनि नै घुमिरहेको नेप्से सोमबार ६.३ अंकले बढेर १३०१.३४ को विन्दूमा उक्लिएको हो । 

विश्लेषकहरुले बजार लामो समय १३ सय विन्दू तल घुमेको र यो मनोवैज्ञानिक विन्दू पार गरेका कारण बजार वृद्धिको लयमा कुद्ने आशा पलाएको दाबी गरेका छन् । तर, यसका लागि बलिया आधारहरु भने नदेखिएका उनीहरुको तर्क छ । यस्तो बेलामा लगानीकर्ताले संयमित भई खरीदबिक्रीको निर्णय गर्नुपर्ने उनीहरुको सुझाव छ । 

केही कम्पनीको सेयर मूल्यमा ठूला गिरोहहरुले चलेखल गरिरहेकाले यसतर्फ पनि सचेत हुन जानकारहरुले लगानीकर्तालाई आह्वान गरेका छन्।

सोमबार राम्रा कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२८ अंकको बढोत्तरी देखियो । 

केही दिनअघिसम्म बैंक र बिमा कम्पनीहरुको दबदबा रहेको बजारमा सोमबार भने जलविद्युत, उत्पादन र अन्य समूहको सूचक चम्किए ।

एचाइडिसिएल, बुटवल पावर कम्पनी, अपर तामाकोशी, नेपाल हाइड्रो, अरुण काबेली लगायतका आयोजनाका कारण जलविद्युत समूहको परिसूचक यो दिन ३.०५ प्रतिशतले बढ्यो । 

शिवम सिमेन्टका कारण उत्पादनमूलक समूह २.४१ प्रतिशतले उक्लियो भने अन्य समूहमा २.०२ प्रतिशत तथा विकास बैंक समूहमा ०.७७ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन बैंकिङ समूह ०.८२ अंकले बढ्यो भने होटल समूहमा २०.६४ अंक र म्युचुअल फण्डमा ०.१ अंकको बढोत्तरी भयो । 

यो दिन ट्रेडिङ समूह ५.४९ अंकले घट्यो भने बित्त समूह ०.४३ अंक, निर्जीवन बिमा समूह २५.६५ अंक, जीवन बिमा समूह १३.०६ अंक र माइक्रोफाइनान्स समूह १.४६ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६९ कम्पनीका २३ लाख ९२ हजार ४०३ कित्ता सेयर ७८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी शिवम सिमेन्टले ११ करोड ४६ लाख बढीको कारोबार गर्यो । प्राइम कमर्सियल बैंकले ६ करोड २४ लाख बढीको सेयर कारोबार गरेको यो दिन प्रिमियर इन्स्योरेन्सले ३ करोड ७८ लाख, नेपाल बैंकले ३ करोड ७५ लाख, सिभिल बैंकले २ करोड ९२ लाख, एचआइडिसिएलले २ करोड ५० लाख, जनता बैंक नेपालले २ करोड ३७ लाख, बुटवल पावर कम्पनीले २ करोड ३२ लाख, अपर तामाकोशीले २ करोड १९ लाख र नेको इन्स्योरेन्सले २ करोड १८ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार झै यो दिन पनि शिवम सिमेन्ट्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढी पोजिटिभ सर्किट लाग्यो । 

एचआइडिसिएलका लगानीकर्ताले पनि कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य ९.५९ प्रतिशतले बढ्यो । 

हिमालयन डिस्टीलरीका लगानीकर्ताले यो दिन सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा  ६.०७ प्रतिशतको गिरावट आयो ।