काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन सेयर बजार बढेर २००० माथि उक्लिएको छ। 

बजार आज ३४.१७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २०२०.६४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५२ अंकले बढेर ३७९.८७ को विन्दुमा उक्लिएको छ। 

कारोबार पनि आज बढेर सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। यो कारोबार ६ महिनायताकै उच्च हो। 

बजार जानकार केशव कोइराला (काका) सिजन बुल सकिएर वास्तविक बुलको यात्रा सुरु भएको बताउँछन्। ‘जेठ १ गतेबाट नै बुल यात्रा सुरु भएको थियो’, उनले भने, ‘अब सानातिना करेक्सनका साथ बजार माथि नै जानेछ। किनकि बजार जुन–जुन कारणले घटेको थियो, अहिले तिनै कारणहरु सहज हुँदै जाँदा बजार बढ्न थालेको हो।’

अहिले मुद्रा बजारमा सुधार आएको कोइरालाको तर्क छ। ‘तरलता बढ्दै जानु र ब्याजदर घट्दै जानुले बजार बढ्नुको मुख्य कारण हुन्’, उनले भने, ‘घर–जाग्गा र अन्य क्षेत्रको कारोबारमा अझै शिथिल रहेकोले ती क्षेत्रको पैसा सेयर बजारमा आउन थालेको छ।’

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि अहिले झन्डै ३ खर्ब तरलता फलाफाल हुँदा बजार बढ्न टेवा पुगेको बताउँछन्। ‘बजारको बियरिस चक्र सकिएको छ’, उनले भने। 

प्राविधिक रुपमा बजार २२०० माथि नै पुग्न सक्ने देखिएकोले अल्पकालीन तथा दीर्घकालीन लगानीकर्ता बजार पस्दा आज बढोत्तरी आएको बिष्ट बताउँछन्। ‘अर्थतन्त्रका सबै सूचक सकारात्मक हुँदै जाँदा सेयर बजारको भविष्य उज्ज्वल देखेर लगानीकर्ताहरु बजार पस्न थालेका छन्’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.७३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.५७ प्रतिशत, वित्त समूहमा २.१९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३० प्रतिशत, जलविद्युत समूहमा १.९३ प्रतिशत, लगानी समूहमा १.९२ प्रतिशत, लघुवित्त समूहमा २.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१६ प्रतिशत, अन्य समूहमा १.१२ प्रतिशत र व्यापार समूहमा २.४२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४४ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक २७ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १७ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको आज आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख रुपैयाँ, सोल्टी होडेलको १२ करोड १८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८३ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ८ करोड ३ लाख रुपैयाँ, शिवश्री हाइड्रोपावरको ७ करोड २९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ५० लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ६ करोड १९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा भूगोल इनर्जी र सिटी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि पोजिटिभ सर्किट लागेको हो। 

यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।