काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २०.५४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९९३.३८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले घटेर ३८२.११ को विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर सवा १ अर्ब रुपैयाँको मात्रै भएको छ। 

बजार जानकार महेश रिजाल बजारमा सकारात्मक महौल बन्न नसक्नु र सप्लाई बढ्नुले बजार प्रभावित बनेको बताउँछन्। ‘सुनकाण्डलगायत विभिन्न काण्डले पनि बजार प्रभावित बन्न पुगेको छ’, उनले भने। 

बजारबाट पैसा चाहिँ निस्कियो तर स्मार्ट लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने अवस्था सिर्जना नभएको रिजालको भनाइ छ। ‘बजार लगातार घट्दा पनि नियामक निकाय र लगानीकर्ताका नेताहरु पनि चुपचाप बसेका छन्’, उनले भने, ‘यसले पनि बजार माथि उठ्न नसकेको हो।’

रिजालको विचारमा बजारले गति लिन नीतिगत परिवर्तन नै हुनुपर्ने देखिन्छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि बजारमा कन्फिडेन्स नआएको बताउँछन्। ‘तरलता फालाफाल छ तर पनि लगानीकर्ता सेयर कर्जा लिन चाहेका छैनन्’, उनले भने। 

स्थानीय निकायको पैसा पनि निक्षेपमा गणना गर्ने विषयमा अर्थ मन्त्रालयमा माइनुट भइसकेकोले यसमा द्विविधामा पर्नुपर्ने अवस्था नरहेको बिष्टले बताए। ‘लगातार घटेको बजार यो साता सम्हालिन सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटामा रातो पोतिएको छ। 

यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.२४ प्रतिशतले उकालो लागेको छ। 

आज जलविद्युत समूह सर्वाधिक १.७५ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.३६ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८१ प्रतिशत, विकास बैंक समूहमा ०.६३ प्रतिशत, लगानी समूहमा ०.६५ प्रतिशत, जीवन बीमा समूह ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७१ प्रतिशत, लघुवित्त समूहमा १.१० प्रतिशत, निर्जीवन बीमा समूहमा १.१९ प्रतिशत, अन्य समूहमा १.१२ प्रतिशत र व्यापार समूह ०.८० प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ कित्ता सेयर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७७ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ४ करोड ९३ लाख रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ३ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ४४ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २ करोड ८३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ७१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ४९ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

यो दिन मकर जितुमाया सुरी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ।