काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ।
बजार आज १३.६८ अंकले ओरालो लागेको हो। योसँगै १८९२ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेर ३६१.५५ को विन्दुमा झरेको छ। कारोबार रकम पौने ८५ करोड रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजारको बढाइ टिक्न नसक्नुले लगानीकर्तामा बजारप्रतिको विश्वास नहुनु नै रहेको बताउँछन्। ‘लगानीकर्ताको मनोबल बढाउन नीतिगत सुधार नै आवश्यक रहेको देखिन्छ’, उनले भने।
सोचेजस्तो कर्जाको ब्याजदर नघट्नुले पनि बजार प्रभावित भएको घिमिरेको तर्क छ। ‘अर्कोतर्फ सेयर कर्जा पनि बजारमा आउन सकेको छैन’, उनले भने, ‘यिनै कारणले लगानीकर्ताको मनोबल बढ्न नसकेको हो।’
अर्का बजार जानकार राजेन्द्र पौडेल पनि नीतिगत व्यवस्थामै हेरफेर हुनुपर्ने बताउँछन्। ‘आज पनि बजार घट्नु भनेको बजारमा सप्लाई बाँकी नै रहेको छ भन्ने हो’, उनले भने, ‘ठूला लगानीकर्ताहरु नीतिगत व्यवस्थामा परिमार्जन चाहिरहेका छन्।’
बजारमा अहिले ट्रेडरहरु हावी भइरहेको पौडेल बताउँछन्। ‘खासगरी बजारमा नयाँ ब्रोकर तथा नेप्से आउने भएपछि सप्लाई दिने काम भयो तर खरिद बढाउने काम भएन’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा पोतिएको छ।
यो दिन लगानी समूह सर्वाधिक १.३३ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.३२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.०२ प्रतिशत, वित्त समूहमा ०.८० प्रतिशत, जलविद्युत समूहमा ०.८४ प्रतिशत, जीवन बीमा समूहमा ०.६० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७८ प्रतिशत, लघुवित्त समूहमा ०.६२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.५९ प्रतिशत, अन्य समूहमा ०.३८ प्रतिशत र व्यापार समूहमा ०.३१ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २६४ कम्पनीका २५ लाख ७१ हजार २०२ कित्ता सेयर ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ७ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। तारागाउँ रिजेन्सी होटेलको ३ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको आज एभरेस्ट बैंकको ३ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ३६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ७५ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको १ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ करोड ६४ लाख रुपैयाँ र आँखुखोला जलविद्युतको १ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज जनता सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन तारागाउँ रिजेन्सी होटेलका सेयरधनीहरुले धेरै गुमाए। यो होटेलको सेयरभाउ ९ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19