काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ। 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो। 

यो सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रुपमा क्यूआर भुक्तानी गर्न सक्छन्।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रुपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। अब नमस्तेपे प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्छन्। हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ। प्रयोगकर्तालाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ। नमस्तेपेसँगको साझेदारीले हाम्रा ग्राहकलाई अझै बढी भुक्तानी विकल्प मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ।’

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्तालाई १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ। हामी हाम्रा ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैँ प्रयासरत छौँ।  यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ।’

फोनपेका बारे 

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तरबैंक व्यक्ति–देखि–व्यक्ति (पर्सन टु पर्सनः पीटुपी) र व्यक्ति–देखि–व्यवसायी (पर्सन टु मर्चेन्टः पीटुएम) लेनदेनहरु यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्ममार्फत सुविधा दिन्छ। फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पीएसओ)का रुपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हाल पनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ। ‘पीसीआईडीएसएस’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैरकार्डआधारित ‘पीएसओ’ पनि हो।

फोनपे एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। नेपालमा आईएसओ २७००१ः२०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकका रुपमा फोनपेले बैंक र वालेट ग्राहकहरु साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ। फोनपे भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरु ल्याउनमा केन्द्रित छ।

नमस्तेपेका बारे

२०७७ मा स्थापित नमस्तेपे नेपाल राष्ट्र बैंकद्वारा अधिकृत र नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धन गरिएको भुक्तानी सेवा प्रदायक हो। काठमाण्डौ त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको नमस्तेपेले आधुनिक डिजिटल वित्तीय सेवाहरुमा सजिलो पहुँच प्रदान गर्दछ।

नमस्तेपे वित्तीय समावेशीकरण र वित्तीय सेवाहरुमा पहुँच सुधार गर्न मद्दत गर्ने उद्देश्यका साथ बैंक र डिजिटल रुपमा शिक्षित मानिसहरुलाई मात्र नभई बैंकविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीता ल्याउन आधुनिक सेवाहरु प्रदान गरेर ‘क्यासलेस समाज’ निर्माण गर्न समर्पित छ।

नमस्तेपे हाल नेपालको एकमात्र डिजिटल वालेट हो, जसले यूएसएसडीलाई सेवाको च्यानलको रुपमा प्रदान गर्दछ। यसमार्फत ग्राहकले वास्तविक–समय बिल भुक्तानी र अन्य सबै प्रकारका वालेटमा आधारित अफलाइन कारोबार गर्न सक्छन्। नेपाल टेलिकमका सीमकार्ड भएका प्रयोगकर्ताले यूएसएसडी मोडमा *५००# डायल गरेर सजिलै अफलाइन कारोबार सुरु गर्न सक्छन्। यो विशेष सुविधाको प्रयोग गरी इन्टरनेट जडान कमजोर वा अनुपलब्ध क्षेत्रहरुमा पनि जुनसुकै बेला कारोबारहरु गर्न सकिन्छ। 

नमस्तेपेले सहज र सुरक्षित रुपमा बिल स्प्लिट, फ्लाइट टिकट बुकिङ, लोड वालेट, विभिन्न युटिलिटी बिल भुक्तानी, मोबाइल टपअप र अन्य धेरैजस्ता सेवाहरु प्रदान गर्दछ।