काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
आज नेप्से परिसूचक १७.३३ अंकको गिरावटका साथ १३.९१.४६ को विन्दुमा खुम्चिन पुगेको हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९८ अंकको गिरावटका साथ २८८.८६ को विन्दुमा सीमित बन्न पुगेको छ। कोरोना भाइरस र लकडाउनले सूचीकृत कम्पनीका गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमास वित्तीय प्रतिवेदन उत्साहपूर्ण नआउँदा बजारमा दोहोरो अंकको गिरावट आएको विश्लेषकहरु बताउँछन्।
सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा रौनक नआउँदासमेत लगानीकर्ताको मनोबल झरेको विश्लेषकहरुको भनाइ छ। कोरोनाकै कारण लकडाउन भएपछि बैंकहरुले आफ्नो व्यवसाय विस्तार गर्न पाएनन्। कर्जा प्रवाहमा समेत संकुचन आउँदा तरलता वृद्धि भइरहेको छ। बैंकबाट प्रवाह हुने कतिपय सेवाहरुबापत पाउने शुल्कहरुमा समेत छुट दिनुपर्ने भएकाले बैंकहरुको आम्दानी निकै खुम्चियो। जसका कारण बैंकहरुको चौथो त्रैमास बिजनेससमेत प्रभावित बन्न पुगेको हो।
देशभरि नै कोरोनाभाइरस समुदायस्तरमै फैलिसकेका कारण क्षेत्रगत सिलहरु बढ्दै गइरहेको छ। कोरोना संक्रमित बढे पनि देशव्यापी पूर्ण लकडाउन नगर्ने सरकारको योजना छ। तर हिजोआज कोरोना संक्रमितको संख्या धमाधम बढेपछि स्थानीय तहहरुले नै सटडाउन गरिरहेका छन्। जसका कारण अर्थतन्त्र पुनः ठप्पप्रायः अवस्थामा छ।
कोरोना त्रासकै कारणसमेत लगानीकर्तामा मनोबल बढ्न नसकिरहेको जानकारहरु बताउँछन्। यद्यपि कारोबार रकम सवा १ अर्बमाथि रहनुले निराश भइहाल्नुपर्ने अवस्था भने नरहेको विश्लेषकहरु बताउँछन्।
त्यसो त राजनीतिक वृत्तमा समेत अस्थिरता देखिएकाले आगामी पुनर्गठित मन्त्रिपरिषद्मा अर्थमन्त्री को बन्ला भन्ने लगानीकर्तामा निकै चासो देखिन्छ। सरकार र कोरोनात्रासकै कारणले लगानीकर्तामा अन्योलता छाइरहेको विश्लेषकहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये एउटामात्र हरियाली छायो भने बाँकी ११ वटामा रातो पोतियो।
यो दिन व्यापार समूहमा १०.९५ अंकको बढोत्तरी भयो।
आज सबैभन्दा बढी जीवन बीमा समूहमा ७६.८७ अंक र उत्पादन तथा प्रशोधन समूहमा ५८.११ अंकको गिरावट आयो। यस्तै बैंकिङ समूहमा १९.३६ अंक, होटेल्स् समूहमा ९.३९ अंक, विकास बैंक समूहमा ३२.२३ अंक, जलविद्युत् समूहमा ५.७९ अंक, वित्त समूहमा ३.०४ अंक, निर्जीवन बीमा समूहमा ४९.१८ अंक, अन्य समूहमा १.११ अंक, लघुवित्त समूहमा २९.२२ अंक र म्युचुअल फन्ड समूहमा ०.५३ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८५ कम्पनीका ४३ लाख ७१ हजार ८५४ कित्ता सेयर १ अर्ब २५ करोड ९३ लाख २० हजार ८५० रुपैयाँबराबरको कारोबार भएको छ।
आज नेपाल बैंकको उच्च कारोबार भयो। यो कम्पनीको मात्रै ८ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भयो।
यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड २१ लाख रुपैयाँ, कुमारी बैंकको ४ करोड ९५ रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ५० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ७ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको ४ करोड २ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३ करोड ४० लाख रुपैयाँ र अजोड इन्स्योरेन्सको ३ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने र धेरै गुमाउने
आज साधना लघुवित्त र छ्याङ्दी हाइड्रोपावरका सेयरधनीहरुले उच्च कमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशत हाराहारीमा उछाल आएर पोजेटिभ सर्किट नै लाग्यो।
यो दिन आँखुखोला जलविद्युत् कम्पनीको सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago