काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा गत वर्ष डिसेम्बर २७ मा एक बिरामीलाई निमोनिया भएको थियो। तर उपचारमा संलग्न चिकित्सक ती बिरामी कोरोनाभाइरस संक्रमित रहेको खुलासा गरेका छन्।

पेरिसस्थित एभिसेन एन्ड जिनकर्डियर अस्पतालका डाक्टर इवेन्स कोहेनले हालै फ्रान्सको ब्रोडकास्टर बीएफएम टीभीमा यस्ता खुलासा गरेका हुन्। उनले भनेका छन्, ‘त्यतिखेर ती बिरामीबाट लिइएको स्वाबको परीक्षण हालै गर्यौँ, त्यसमा कोरोना पोजेटिभ देखियो। यो रिपोर्ट ती बिरामीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।’

५० वर्षीय ती व्यक्ति अहिले पूर्ण रुपमा ठिक छन्। तर उनले आफू कतै नगएको र कुनै बिरामीको संगतमा पनि नरहेको जानकारी गराएका छन्। 

अहिलेसम्म सारा विश्वलाई कोरोनाभाइरसको उत्पत्ति चीनको वुहान सहरबाट भएको थाहा छ। जब कि वुहानमा गत वर्ष डिसेम्बर ३१ मा पहिलोपटक कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जानकारी गराएको थियो। त्यतिखेर विश्वका अन्य मुलुकमा कोरोना संक्रमण देखिएको थिएन।

उता फ्रान्समा पहिलोपटक जनवरी २४  मा तीनजनामा कोरोना संक्रमण देखिएको डब्ल्यूएचओले जनाएको थियो। जसमा दुईजना चीनको वुहानबाट फर्केका र अर्का एकजना उनीहरुका परिवारकै सदस्य भनिएको छ।

डा कोहेनले गत वर्ष डिसेम्बर र यो वर्ष जनवरीमा फ्लुजस्ता लक्षण देखिएका हरेक बिरामीको फाइल एकपटक पुनः पल्टाउन आवश्यक रहेको बताएका छन्। ‘मैले यो बीच १४ जना बिरामीको स्वाब नमुना संकलन गरेर राखेको छु’, उनले भने, ‘त्यतिखेर पनि ती १४ जनाको स्वाब परीक्षण भएको थियो। जसमा एकजनामा कोरोना पोजेटिभ देखिएको थियो।’

कुनै गल्ती नहोस् भने फेरि पनि आफूहरुले ती संक्रमित व्यक्तिको स्वाब परीक्षण दोहोर्याएर गरेको डा कोहेनले बताए। ‘तर उनको रिपोर्ट पोजेटिभ नै आयो’, उनले भने। 

डा कोहेनले यसबारेमा नेसनल हेल्थ एजेन्सीलाई जानकारी गराएका थिए। ‘अरु बायरोलोजिस्टलाई पनि हाम्रो अस्पतालमा भर्ना भएका बिरामीहरुको स्वाब टेस्टिङ गर्न माग गरेका थियौँ’, उनले भने। 

डा कोहेनले यो साताको अन्त्यसम्म सबै रिपोर्ट आउने बताए। त्यसपछि ती रिपोर्टलाई जर्नल अफ एन्टीमाइक्रोबिअल एजेन्ट्समा प्रकाशित गरिने पनि उनले जानकारी दिए। – बीबीसीबाट भावानुवाद