– अनन्त्य सुन्दर

काठमाण्डौ । बुलिस रहेको नेपालको सेयर बजारमा अहिले ५०–६० अंकले तलमाथि हुनु सामान्यजस्तो भएको छ। तर, बजारका विज्ञहरु भने अपरिपक्व रहेको नेपालको सेयर बजारमा फ्लोर सिटका कारण विकृति पनि बढ्दै गएको बताउँछन्। जसका कारण बजारमा एकैदिन भारी अंकको घटबढ हुने गरेको उनीहरुको भनाइ छ। 

‘सेयर बजारमा कसले के किन्दैछ भन्ने सजिलै थाहा हुन्छ। त्यसैले लगानीकर्ताहरुले ‘मार्केट मेकर’ ‘मार्केट लिडर’ भन्दै केही सीमित ब्रोकरलाई फलो गर्छन्’, बजारका एक विज्ञ भन्छन्, ‘उक्त ब्रोकरले किन्यो भने किन्ने र बेच्यो भने बेच्ने गर्ने भएकाले बजार यो स्थितिमा आएको हो।’

ब्रोकरहरु पनि बजारमा केही सीमित ब्रोकरहरु हाबी भएको बजार जानकारहरु बताउँछन्। ‘ओपन आउट क्राई सिस्टमको बेला ब्रोकरको नाममा अर्डर राखिन्थ्यो। तर, अहिले क्लाइन्टको नाममै अर्डर राखिन्छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘अनलाइन प्रणालीबाट कारोबार सुरु भएसँगै अब फ्लोर सिटमा ब्रोकरको नम्बर राख्नुको औचित्यका साथै सान्दर्भिकता छैन। त्यसैले फ्लोर सिटबाट ब्रोकर नम्बर हटाउन आवश्यक छ।’ 

कुन ब्रोकरले के किन्यो भन्दा पनि कारोबार विवरणमात्र दिए बजारमा फ्लोर सिटले ल्याएको विकृति कम हुने ती ब्रोकर सञ्चालकको भनाइ छ। 

अर्को एक ब्रोकरका सञ्चालक पनि अहिले लगानीकर्ताहरु कम्पनीबारे अध्ययन गरेर लगानी गर्नुभन्दा पनि फ्लोर सिट हेरेर लगानी गर्ने गरेको बताउँछन्। ‘जसले गर्दा बजारमा चलखेल बढेको देखिन्छ’, ती सञ्चालक भन्छन्, ‘फ्लोर सिटबाट केही ब्रोकरहरुले बजारमा सजिलै प्ले गरेको देखिन्छ। यो सब लगानीकर्तामा छर्लङ छ। तर हामीले बारम्बार झक्झकाउँदा पनि नियामकहरु भने कानमा तेल हालेर बसेका छन्।’

‘विश्वको कुनै पुँजी बजारमा नभएको सिस्टम नेपालमा नै हुन्छ’, अर्का एक ब्रोकर सञ्चालक भन्छन्, ‘नेपालमा अहिलेसम्म फ्लोर सिटमा ब्रोकर नम्बर देखाउनुको कारण बजारमा चलखेल गर्नका लागि नै हो। फलानो ब्रोकरले किन्यो, फलानोले बेच्यो भन्दै कारोबार गर्ने लगानीकर्ताहरु यहाँ सयौँको संख्यामा छन्। त्यसैले एकैदिनमा ७० अंकले तल आउने र ६० अंकले माथि जाने भएको छ।’ 

सेयर बजार विश्लेषक केशव कोइराला अर्थात् काका बजारमा दुई–चारवटा ब्रोकरहरु हाबी भएको बताउँछन्। कोइराला भन्छन्, ‘बजारमा अहिले फ्लोर सिटको आधारमा केही ब्रोकरहरुले साना तथा नयाँ लगानीकर्ताहरुलाई फसाइरहेका छन्। एउटा ब्रोकरले चुपचाप मार्केट लिड गरिरहेको छ। अन्य दुईवटा ब्रोकरले त्यसकै सहाराले आमलगानीकर्तालाई फसाइरहेका छन्।’ 

फ्लोर सिटबाट कति नम्बर ब्रोकरले खरिदबिक्री गर्यो भनेर हटाउनुपर्ने कोइरालाको भनाइ छ। ‘मार्केट डेप्थमा पनि अर्डर रिभाइज गरेर लिमिट राख्न आवश्यक छ’, कोइराला भन्छन्, ‘ठूलो संख्याको अर्डर देखाउँदै बिक्री बढाउँदै जाने फेरि तल झार्ने। खरिदतर्फ पनि बढाउँदै जाने फेरि तल झार्ने गरेर प्रविधिको दुरुपयोग गरी आमलगानीकर्तालाई लुट्ने काम भइरहेको छ। त्यसैले अर्डरमा पनि लिमिट राखी रिभाइज गर्न अत्यावश्यक छ।’