काठमाण्डौ । विश्लेषक तथा जानकारहरुको अनुमानलाई सही दिशा दिंदै बजारले ‘बुल रन’तर्फको यात्रा समातेको छ । 

आइतबारदेखि लगातार बढिरहेको बजारमा साताको तेश्रो कारोबार दिन पनि दोहोरो अंकको बढोत्तरी भयो । सकारात्मक दिशामा अगाडि बढिरहेको नेप्से परिसूचकलाई कारोबार रकमको समेत बलियो साथ प्राप्त भएको छ । जसका कारण मंगलबार धेरै समयपछि बजारमा एकैदिन १ अर्ब माथिको सेयर कारोबार भएको छ । सोमबार ८४ करोड भन्दा केही बढीको सेयर कारोबार भएको थियो । 

विश्लेषकहरुले बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढिरहेकोले आगामी दिनहरु अझै सकारात्मक हुनसक्ने दाबी गरेका छन् । उनीहरु भन्छन्–‘इण्डेक्स र टर्नओभर समानान्तर ढंगले बढ्दै जाने प्रवृति निरन्तर रह्यो भने लामो अवधिको बुल रन सुरु हुन्छ ।’

केही प्राविधिक विश्लेषकहरुले नेप्से परिसूचक १२०० माथिको यात्रामा रहेकोले यो बढेर १३०० सम्म पुग्ने दाबी गरिरहेका छन् । नेप्से १३०० सम्म पुगेर केही समयसम्म करेक्सन हुने र फेरि बजार बढ्ने उनीहरुको दाबी छ । 

बजारमा दिगो बढोत्तरीका लागि आवश्यक आधारहरु समेत बिस्तारै बन्दै गएको ब्रोकरहरु दाबी गर्छन् । उनीहरुका अनुसार बैंकको ब्याजदर बिस्तारै घट्न थालेको छ भने केही कडा व्यवस्थाका कारण व्यक्तिगत कर्जामा संकुचन आएसँगै बैंकहरुले खुलेरै सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् । यसले समेत सेयर धितो कर्जा लिन सहज भई लगानीकर्ताहरु दिल खोलेर खरीदारीमा पैसा खन्याइरहेका छन् । 

बजार बढोत्तरीसँगै अन्य आधार समेत सकारात्मक बन्दै गएपछि ठूला तथा संस्थागत लगानीकर्ताहरुको समेत बजारमा प्रवेश भइसकेको छ । यसले समेत बजारको दिगो बढोत्तरीमा टेवा पुग्ने जानकारहरु बताउँछन् । 

मंगलबार १६.२३ अंकले बढेर १२१६.९२ को विन्दूमा पुगेको बजारमा १ अर्ब १० करोड बढीको कारोबार भएको छ । यसले समेत 'पर्ख र हेर'को रणनीतिमा बसेका लगानीकर्ता समेत सक्रिय बनेका देखाउँछ । यस्तो समयमा प्रफिट बुक गरेर कमाउने सर्टटर्म लगानीकर्ताहरुको ब्रोकर हाउसहरुमा बाक्लै भीड देखिने गर्छ । 

बजारमा निरन्तर बढोत्तरी भएसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको थामिनसक्नुको भीड लाग्न थालेको छ । बजार बढेको मौका छोपेर दुईचार पैसा कमाइहाल्ने लक्ष्य लिएर ब्रोकर हाउस पुग्ने नयाँ लगानीकर्ताको संख्या समेत निकै धेरै रहेको ब्रोकर बताउँछन् । 

मंगलबार नेप्से परिसूचकसँगै राम्रा र बलिया कम्पनीमा लगानीकर्ताको खरीद आकर्षण देखिएका कारण सेन्सेटिभ इण्डेक्स समेत ४.१३ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३२ अंकको बढोत्तरी देखियो । 

यो दिन पनि बजारमा बैंक तथा वित्तीय संस्थाहरुकै बोलवाला रह्यो । बैंकिङ समूह १९.०३ अंकले बढेको यो दिन विकास बैंक समूहमा २६.१८ अंक, माइक्रोफाइनान्स समूहमा ३२.९ अंक, बित्त समूहमा ५.०२ अंकको बढोत्तरी भयो । 

जलविद्युत समूह १७.५५ अंकले बढेको यो दिन जीवन बिमा समूहमा १.०४ अंक, निर्जीवन बिमा समूहमा ८६.५६ अंक, व्यापार समूहमा १.०१ अंक, म्युचुअल फण्ड समूहमा ०.०१ अंकको बढोत्तरी भयो । 

होटल समूहमा ८.३७ अंकको गिरावट आएको दिन शिवम सिमेन्टको मूल्यमा गिरावट आएका कारण उत्पादन तथा प्रशोधन समूहको सूचक २२.६६ अंकले घट्यो । 

बजारका जानकार तथा विश्लेषकहरुले शिवम सिमेन्टको सेयर पुनः सस्तोमा झारेर उठाई प्रतिकित्ता ६०० माथि पुर्याउने योजनाका साथ सुनियोजित गिरोहहरुले खेल खेलिरहेका दाबी गरेका छन् । शिवम सिमेन्टको सेयर मूल्य कुनै बेला बढेर ७ सय माथि पुगेको थियो । बिजुली बक्यौता प्रकरणले घटेर ३६० मा झरेको सेयर मूल्य पुनः बढाएर ५०० सम्म पुर्याइसकिएको छ । 

सस्तोमा यो कम्पनीको सेयर उठाएर ५०० सम्म पुर्याई बिक्री गर्ने गिरोहले नै पुनः घटाएर न्यून विन्दूमा झार्ने र सेयर उठाएर पुनः बढाउने खेल सुरु भएको भन्दै पुराना लगानीकर्ता र कतिपय ब्रोकरहरुले नयाँ लगानीकर्तालाई सचेत बन्न मंगलबार आग्रह गरिरहेका बजारमा भेटियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता सेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी माछापुच्छ्रे बैंकले १९ करोड ४९ लाख बढीको कारोबार गर्यो । माछापुच्छ्रे बैंकबाट बाहिरिएका महतो समूहको संस्थापक सेयर सर्वसाधारणमा रुपान्तरण भई एकैपटक कारोबारमा आउँदा यति ठूलो परिमाणमा कारोबार भएको ब्रोकरस्थित स्रोतले जनाएको छ । 

यो दिन पछिल्लो समय लगानीकर्ताको आकर्षण बनेको एनआइसी एशिया बैंकले ६ करोड ४८ लाख बढीको कारोबार गर्यो । 

प्रभू बैंकले ४ करोड २० लाख बढीको कारोबार गरेको यो दिन डिप्रोक्स लघुवित्तले ४ करोड ६लाख, एनसीसी बैंकले २ करोड ९१ लाख, एनएमबी बैंकले २ करोड ६८ लाख, लुम्बिनी विकास बैंकले २ करोड ६३ लाख, सिद्धार्थ बैंकले २ करोड ३५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ११ लाख र सानिमा बैंकले १ करोड ९८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा ५ कम्पनीका लगानीकर्ता मालामाल बने । 

सिभिल लघुवित्त, वोमी माइक्रोफाइनान्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । सबैको लघुवित्तको मूल्यमा ९.४९ प्रतिशत तथा सपोर्ट माइक्रोफाइनान्सको मूल्य ८.६९ प्रतिशतले बढ्यो। 

यो दिन बोटलर्स नेपाल(तराई) लिमीटेड र नेपाल फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः ३.९३ र ३.७० प्रतिशतले घट्यो ।