काठमाण्डौ । सेयर बजारमा नाम चलेका दिग्गज लगानीकर्ताहरुलाई पछ्याउँदै अन्यले लगानी गर्ने कुनै नयाँ कुरा होइन। विश्व सेयर बजारमै यसरी नयाँ र अपरिपक्व लगानीकर्ताहरुले नाम चलेका लगानीकर्ताहरुलाई पछ्याउँदै लगानी गर्ने प्रवृति फस्टाउँदो छ ।
नेपालको सेयर बजार पनि यसबाट अछुतो छैन। अहिले पनि अधिकांश लगानीकर्ताहरु नाम चलेका र ठूला लगानीकर्तालाई पछ्याउँदै र उनीहरुले भनेकै आधारमा सेयरमा लगानी गरिरहेका हुन्छन्। जानकारका अनुसार दिग्गज लगानीकर्ताको नक्कल गर्नुलाई ‘भेँडो चाल’ पनि भनिन्छ। यस्तो भेँडो चाल चल्ने लगानीकर्ताहरुले जोखिमलाई पूर्ण रुपमा नजरअन्दाज गर्दै अरुले भनेकै भरमा विभिन्न कम्पनीका सेयरमा आँखा चिम्लेर लगानी गरिरहेका हुन्छन्।
यस्ता लगानीकर्ताहरुलाई यतिसम्म पनि थाहा हुन्न कि कुन सेयरमा कतिबेला लगानी गर्ने र कति बढेपछि बेच्ने ? जसका कारण दिग्गज र ठूला लगानीकर्ताको पछि लाग्दालाग्दै कतिपयले फाइदाभन्दा पनि नोक्सानी व्यहोर्न बाध्य हुन्छन्।
बजार जानकारका अनुसार जब सेयर बजारमा ठूलो संख्यामा नयाँ लगानीकर्ता भित्रिन्छन् तब दिग्गज लगानीको नक्कल गर्ने प्रवृत्ति बढ्न थाल्छ। हरेक मार्केट साइकल (बजार चक्र)मा नयाँ लगानीकर्ताको ठूलो संख्या भित्रिन्छ र उनीहरु बजारमा छिटै कमाउने छोटो बाटो खोज्न् थाल्छन्। यही छोटो बाटो मुख्य कारण बन्छ दिग्गज लगानीकर्ताको बाटो पछ्याउने।
यसरी छोटो बाटोबाटै दिग्गज लगानीकर्तालाई पछाउने क्रममा केही लगानीकर्ताले अल्पकालमा त केही कमाउलान् तर दीर्घकालमा भने डुब्ने सम्भावना प्रबल हुन्छ। अझ ताजुबको कुरा त के छ भने अल्पकालमा कमाउँदा उनीहरु सबैलाई भन्दै हिँड्छन् तर दीर्घकालमा गुमाउँदा कसैसँग आफ्नो कुरा राख्दैनन्।
भारतका दिग्गज लगानीकर्ता राकेश झुनझुनवाल स्वयंले भनेका छन्, ‘अरुलाई मैले टाइटनबाट मनग्य आम्दानी गरेको थाहा होला तर मैले नोक्सानी व्यहोरेका सेयरहरुकाबारे थाहै छैन।’
झुनझुनवाल भन्छन्, ‘जब कसैले लगानीसँग जोडिएको सफलताका कुनै कथा सुनाउँछ भने ऊ कुनै खास सेयरको सुनौलो पक्षमात्र देख्छ। यस्तोमा उसले त्यस सेयरसँग जोडिएको जोखिमलाई नजरअन्दाज गरिदिन्छ।’
त्यसैले सेयर बजारमा लामो समयसम्म टिक्नुछ भने आफैँले रणनीतिक योजना बनाउन आवश्यक छ। त्यसका लागि सेयर बजारसम्बन्धी जानकारी अत्यावश्यक हुन्छ।
अझ आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय अवस्थाका विषयमा अध्ययन गर्न आवश्यक छ। अरुले भनेकै भरमा वा ठूला लगानीकर्तालाई पछ्याएकै भरमा सेयरमा लगानी गर्दा कमाउनेभन्दा गुमाउने सम्भावना बढी हुने स्वयं दिग्गज लगानीकर्ताहरु नै बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19