काठमाण्डौ । धितोपत्र करोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ।
बजार १०.१३ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६८४.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १.१२ अंकको बढोत्तरीका साथ ४७९.५० को विन्दुमा पुगेको छ। आज कारोबार रकम बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार सकारात्मक ढंगले नै अगाडि बढिरहेको बताउँछन्। ‘बजार बुलिस ट्रेन्डमा छ’, उनले भने, ‘बजार २७०० को विन्दु पार गर्न खोजेको छ, पार गर्छ पनि । अबको यात्रा ३००० विन्दुसम्मको हुन सक्छ।’
मुलुकमा भित्रिने रेमिट्यान्स बढेकोले बजारमा सकारात्मक प्रभाव परेको रौनियारको ठहर छ। ‘कोभिडले रेमिट्यान्स २० प्रतिशतले घट्छ कि भन्ने थियो तर १६ प्रतिशतले बढेको छ’, उनले भने, ‘यो बजारका लागि सकारात्मक पक्ष हो।’
अहिले विदेशमा बसेकाहरुले धमाधम नेपाल रहेका आफन्तबाट सेयर बजारमा लगानी गरिरहेको पनि रौनियार बताउँछन्। ‘विदेशबाटै पनि नेपालीहरुले लगानी गरिरहेका छन्’, उनले भने, ‘सेयर बजारप्रति आकर्षण बढेको छ।’
राजनीतिले सेयर बजार खासै प्रभाव नपार्ने रौनियारको ठम्याइ छ। ‘सत्तामा जोसुकै आए पनि बजार सकारात्मक नै हुन्छ’, उनले भने।
बैंकहरुको आधार कम हुनु, ब्याजदर एकल विन्दुमै रहनु आदि कुराले पनि बजार बढ्नलाई टेवा दिइरहेको रौनियारले बताए। ‘बजार बुलिस नै रहेकोले डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘साना लगानीकर्ताहरुले राम्रा कम्पनी र आधारभूत पक्ष बलिया भएका कम्पनीमा लगानी गर्नुपर्छ।’
सक्रिय लगानीकर्ता नयन बास्तोला कारोबार बढेकोले बजार सकारात्मक बनेको बताउँछन्। ‘कोभिडका कारण जारी निषेधाज्ञाको अवस्थामा अन्य क्षेत्रमा लगानी गर्ने अवस्था छैन’, उनले भने, ‘त्यही भएर सेयर बजारमै लगानी भित्रिरहेको छ। यसले गर्दा बजार बढेको हो।’
बजार अझै केही दिन बढ्न सक्ने बास्तोलाको अनुमान छ। ‘तर अघिल्लो लकडाउनमा जस्तै बजार बढ्ने सम्भावना कमै छ’, उनले भने।
अहिले बजारमा नयाँ लगानीकर्ता निकै सक्रिय रहेको पनि बास्तोला बताउँछन्। ‘तर अर्थतन्त्रले कस्तो मोड लिन्छ, त्यो विचार गरेरमात्र नयाँ लगानीकर्ताले सेयर कारोबार गर्दा उत्तम हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। यो दिन जीवन बीमा समूह सर्वाधिक ८५.१२ अंकले उकालो लागेको छ। विकास बैंक समूह ७१.१९ अंकले बढेको आज बैंकिङ समूहमा ३.२८ अंक, जलविद्युत् समूहमा ३७.१२ अंक, वित्त समूहमा ६०.२४ अंक, निर्जीवन बीमा समूहमा ५.५२ अंक, अन्य समूहमा १३.२१ अंक, लघुवित्त समूहमा ५.३९ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको बढोत्तरी भएको छ।
आज व्यापार समूह सबैभन्दा धेरै २३.८६ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १९.३५ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा १८.१३ अंक र लगानी समूहमा ०.४ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा किनबेच भएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४९ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको २५ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण काबेल पावरको २१ करोड ६० लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड १४ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १८ करोड ३४ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १६ करोड ६४ लाख रुपैयाँ, निफ्राको १३ करोड ६७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ७८ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको ११ करोड ९७ लाख रुपैयाँ र युनिभर्सल पावरको १० करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज १२ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। दिव्यश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स र युनियन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सेन्ट्रल फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यो दिन रिडी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19