काठमाण्डौ । मंगलबार पनि सेयर बजारमा करेक्सन भएको छ । यो दिन नेप्से परिसूचक ५.७१ अंकले घटेर ११८६.०३ विन्दूमा समेटिन पुगेको हो । 

विश्लेषकहरुले यो गिरावटलाई बजारको नियमित करेक्सन भनेका छन् । आइतबार दोहोरो अंकले बढेको बजारमा सर्टटर्म कारोबारीले थोरै भए पनि प्रफिट बुक गरेर बिक्रीमा ध्यान दिंदा बजार सोमबार पनि करेक्सन भएको थियो । मंगलबार पनि त्यसकै निरन्तरता रहेको बताइएको छ । 

बजार दुई दिनसम्म करेक्सन भए पनि बढ्नसक्ने पर्याप्त आधारहरु रहेका भन्दै लगानीकर्ताहरुलाई संयम भएर लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार मात्रै नेपाल राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएका र बजार वृद्धिको आधार भनी विश्लेषण गरिएका बुँदाहरु एकदुई दिनमै कार्यान्वयन हुने बचन दिएका छन् । उनले ती बुँदाहरुको कार्यान्वयनसँगै सेयर बजारमा सुधार आउने समेत दाबी गरेका छन् । गभर्नरको यो भनाईले समेत बजारलाई सकारात्मक प्रभाव पार्नसक्ने देखिएको छ । 

यो दिन बजारका सबै समूहका सूचक घटेका छन् । राताम्मे भएको बजारमा बैंकिंग समूह ४.५६ अंकले घटेको छ भने विकास बैंक, जीवन बिमा समूह, निर्जीवन बिमा समूह र माइक्रोफाइनान्स समूहमा क्रमशः ८.८१ अंक, २९.३६ अंक, २४.३६ अंक र १३.८४ अंकको गिरावट आएको छ । 

यसैगरी, होटल समूह २१.५ अंकले घटेको छ भने जलविद्युत समूह ११.०५, बित्त समूह २.३७, उत्पादनमूलक ९.१४ र अन्य समूह ०.६९ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १२ लाख ४१ हजार ८ सय ४३ कित्ता सेयर ४२ करोड १३ लाख १६ हजार ७ सय २३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड २४ लाख बढीको सेयर किनबेच भयो । यस्तै, यही बैंकको ५ करोड १९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ । 

एनएमबी बैंकले २ करोड ३१ लाख बढीको कारोबार गरेको बजारमा प्राइम कमर्सियल बैंकको १ करोड ९७ लाख बढीको संस्थापक सेयरको समेत कारोबार भएको छ । 

नेपाल बैंक लिमीटेडले १ लाख ९५ हजार, एचआइडिसिएलले १ लाख ६० हजार, एनआइसी एशियाले १ लाख १४ हजार, नेपाल इन्स्योरेन्सले ९९ लाख, ग्लोबल आइएमई बैंकले ९४ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ९२ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा मल्टी पर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

सबैभन्दा बढी एनएमबी बैंकका संस्थापक सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य ९.३३ प्रतिशतले घट्न पुग्यो ।