काठमाण्डौ । नेपाल सेयर बजारमा साताको कारोबारको पहिलो दिन बजार प्रायः नकारात्मक रहन्छ । बजार बन्द हुने दुई दिनमा लगानीकर्ताहरुले कम्पनीहरुका बारेमा विस्तृत अध्ययन गर्ने मौका पाउने भएकाले आइतबार बजार नकारात्मक रहने गरेको विश्लेषकहरु बताउँछन् । यद्यपि गत साताको आइतबारदेखि नेप्से इन्डेक्स सकारात्मक रहँदै यो साताको कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पायो ।
कारोबार अवधिको अधिकांश समय केही अंकले घटेको बजार बन्द हुनु १५ मिनेटअघि सकारात्मक लय समात्यो । दोस्रो बजारमा सेयर खरिदबिक्रीमा आर्थिक क्रियाकलाप बैंकिङ च्यानलबाट हुने गर्दछ । बैंकिङ च्यानलबाट फिल्टर भएरमात्र दोस्रो बजारमा आर्थिक क्रियाकलापको स्रोत पारदर्शी हुन्छ ।
पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारणका लागि आवश्यक अभिलेख तथा कागजातका लागि ब्रोकर कम्पनीहरुलाई तागेता गरेको विषय तोडमोड भई विभिन्न सञ्चारमाध्यममा आएका कारण तर्सिएका लगानीकर्ताको कमजोर मनोबलका कारण आइतबार कारोबारको सुरुआतदेखि अधिकांश समय नेप्से परिसूचकमा रातो पोतिएको थियो । तर सम्पत्ति शुद्धिकरणसम्बन्धी बोर्डको तागेता ‘फलोअप’ मात्र रहेको कुरा बुझेका लगानीकर्ताले अन्तिम समयमा भने खरिददारी बढाएका थिए । परिणामस्वरुप साताको पहिलो कारोबार दिनको बजार सुखद् संकेतका साथ बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक ३.४५ अंकको बढोत्तरीसहित ११३५.३७ को विन्दुमा पुगेको छ भने २८ करोड रुपैयाभन्दाको कारोबार भएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीमा अन्तिम समयमा खरिदचाप देखिएका कारण सेन्सेटिभ इन्डेक्स १.७५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इन्डेक्समा ०.०६ अंकको बढोत्तरी भयो ।
आजको दिन नेप्सेमा रहेका १२ उपसमूहमध्ये ६ वटामा हरियो पोतियो भने ६ वटामा रातो पोतियो ।
यस दिन अन्य र लघुवित्त उपसमूहमा सबैभन्दा बढी १९.४७ र १७.०९ अंकको बढोत्तरी भयो भने बैंकिङ, कारोबार, होटेल्स् र विकास बैंक उपसमूहमा क्रमशः ०.४८, ८.९७, ८.९५ र ५.५९ अंकले बढ्यो ।
यसैगरी आजको दिन निर्जीवन बिमा र जीवन बिमा उपसमूहमासबैभन्दा बढी ३४.३ र ११.६४ अंकको गिरावट आयो। त्यस्तै जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डमा क्रमशः ४.६४, १.७९, ८.२३ र ०.०१ अंकका गिरावट आयो ।
सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरु
यस दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १७१ कम्पनीका ९ लाख ८७ हजार ७३९ कित्ता २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँमा कारोबार भयो ।
यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरले २ करोड १३ लाख रुपैयाँबराबरको कारोबार गर्न सफल भयो । यसैगरी करोडभन्दा माथि मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक र नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले क्रमशः १ करोड ७२ लाख, १ करोड ६१ लाख र १ करोड २९ लाख रुपैयाँबराबरको कारोबार गरे ।
यस्तै एनआईसी एसिया बैंक, सिभिल बैंक, नबिल बैंक, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, स्वरोजगार लघुवित्त र डिप्रोक्स लघुवित्तले क्रमशः ९९ लाख ७१ हजार, ९६ लाख १४ हजार, ८० लाख ४० हजार, ७७ लाख ३९ हजार, ७० लाख ४९ हजार र ६५ लाख ६१ हजार रुपैयाँबराबरको कारोबार गरेका छन् ।
सबैभन्दा धेरै कमाउने र गुमाउनेहरु
आज सबैभन्दा बढी कञ्चन डेभलपमेन्ट बैंकका कम्पनीका सेयरधनीहरुले कमाए । यो बैंकको सेयरमूल्यमा ७.१० प्रतिशत वृद्धि भयो ।
यसैगरी आजको दिन स्वरोजगार लघुवित्त, युनियन हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, डिप्रोक्स लघुवित्त र नयाँ नेपाल लघुवित्तका सेयरधनीहरुले राम्रै कमाए । यी सबै कम्पनीका सेयरमूल्यमा आज ५ प्रतिशतभन्दा बढी बढोत्तरी भयो ।
यो दिन सबैभन्दा धेरै नेसनल माइक्रोफाइनान्स, आँखुखोला जलविद्युत कम्पनी र हिमालय ऊर्जा विकास कम्पनीका सेयरधनीहरुले गुमाए । यी सबै कम्पनीका सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago