काठमाण्डौ । केही दिनको करेक्सनपछि बजारको शानदार कम्ब्याक भएको छ ।

लगातारको करेक्सनपछि घटेर १२७६ मा सीमित बन्न पुगेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले बढेर १३ सय माथि पुगेको छ ।

बजारका जानकार तथा विश्लेषकहरुले बुल रन सुरु भएदेखि नै १३६० को आसपास नेप्से पुगेपछि करेक्सन आउने र सो क्रममा बजार १२८० आसपासमा सीमित बनी पुनः बुलिस गतिमा कुद्ने विश्लेषण गरेका थिए । उनीहरुको प्रक्षेपणअनुसार नै लगातार करेक्सनको यात्रामा रहेको बजारले शानदार बाउन्स ब्याक गरेको छ ।

विश्लेषकहरुले सोमबारबाट पुनः उत्साहपूर्ण ढंगले बढ्न थालेको नेप्से परिसूचक अब केही सातासम्म यही ट्रेन्डमा रहने दाबी गरेका छन् । उनीहरुको दाबीलाई मान्ने हो भने योपटकको बुलिस गतिले नेप्से परिसूचकलाई १४ सयमाथिको विन्दुमा पुर्याउने सम्भावना प्रबल रहेको छ । 

पछिल्लो समय बैंकको आधार दरमा कटौतीसँगै ब्याज दर घट्न थालेको, तरलताको अवस्था केही सुविधाजनक बन्दै गएको, बजारविरोधीको पहिचान बनाएका अर्थमन्त्रीको बहिर्गमनको सम्भावना बढ्दै गएको, मार्केट मेकर तथा डिलरका रुपमा नागरिक लगानी कोष र सञ्चय कोषजस्ता संगठित संस्थाको प्रवेश निश्चित बन्दै गएकोलगायतका कारणले सेयरबजारमा लगानी गर्नेहरुको मनोबलमा लगातार बढोत्तरी भइरहेको छ । सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमास रिपोर्ट उत्साहपूर्ण रहेको तथा बिमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेपछि यसले समेत बजारमा सकारात्मक तरंग पैदा गरेको जानकार बताउँछन् । यिनै कारणसमेत बजार अझै माथि जाने उनीहरुको दाबी छ ।

यो दिन राम्रा र बलिया कम्पनीमा खरिदचाप बढ्दा सेन्सेटिभ इन्डेक्स ४.५३ अंकले बढ्दै २७९.१५ को विन्दुमा पुगेको छ । यस्तै समग्र कारोबार मापद फ्लोट इन्डेक्स १.७९ अंकले बढेको छ ।

यो दिन बजारका सबै समूहको उपसूचकमा हरियाली छायो । बैंकिङ समूह १८.०१ अंकले बढेको यो दिन व्यापार समूहमा ३४.५९, होटेल्स समूहमा ८३.३२, विकास बैंकमा ४३.८१, जलविद्युत्मा १९.५१, वित्त समूहमा २.८६, निर्जीवन बिमा समूहमा १४९.७६, जीवन बिमा समूहमा १७४.०३, उत्पादन तथा प्रशोधन समूहमा ९.८६, माइक्रोफाइनान्समा ६६.४३, म्युचुअल फन्ड ०.०४ र अन्य समूहमा ५.१५ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बजारमा १८० कम्पनीका २४ लाख ९ हजार २६२ कित्ता सेयर ९१ करोड ७३ लाख ५९ हजार ८६५ रुपैयाँ किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड १४ लाख बढीको कारोबार गर्यो । त्यसपछि ग्लोबल आईएमई बैंकले ५ करोड २६ लाख, ग्रामीण विकास लघुवित्तले ४ करोड ६८ लाख, एनआईसी एसिया बैंकले २ करोड ७० लाख बढीको कारोबार गरे । 

प्राइम कमर्सियल बैंकको २ करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा गुराँस लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, सूर्या लाइफ इन्स्योरेन्सले २ करोड ३६ लाख, प्राइम लाइफले २ करोड ३३ लाख, नेरुडे लघुवित्तले २ करोड १६ लाख र नेपाल बैंकले २ करोड ८ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने, गुमाउने कम्पनीहरु

यो दिन धेरै कमाउने १० कम्पनीको सूचीमा माइक्रोफाइनान्स कम्पनीहरुको एकछत्र राज चल्यो । सबैभन्दा बढी समिट र नेरुडे लघुवित्तका लगानीकर्ताहरुले सम्पत्ति बढाए । यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः ७.७९ र ७.६३ प्रतिशतले बढ्यो । फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, गुराँस लघुवित्त र ग्रामीण विकास लघुवित्तको सेयरमूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन जलविद्युत् कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । सबैभन्दा बढी जोशी हाइड्रोपावरको सेयरमूल्य घट्यो । यो कम्पनीको मूल्यमा ३.०७ प्रतिशतको गिरावट आयो ।