काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा यो साताको कारोबारको तीन दिनमै नेप्से परिसूचक गत साताको तुलनामा १९१ विन्दूको गिरावट आएको छ ।
आइतबारदेखि नेप्से परिसूचकमा आएको गिरावटको यात्रा कायमै छ ।
नेप्से परिसूचकमा आएको गिरावटबारे सम्बद्ध पक्ष के भन्छन् ?
सेयर प्राविधिक विश्लेषक सूकराम पाण्डे ३ वटा बार बनेकाले सम्भवतः बजार १४४१ बाट रिभर्स हुने संकेत आएको दाबी गर्छन् । माहौललाई हेरेर लगानी गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘करेक्सन अलिक चाँडै पो भएको हो कि !’ उनले भने–‘अब न्यूनतम विन्दू आएकोले बजार फर्कन्छ ।’
बजार बढ्दा कहिल्यै घट्दैन र बजार घट्दा कहिले बढ्दैन भन्ने लगानीकर्ताहरुको मानसिकता र सोचाइमा आमूल परिवर्तन आवश्यक रहेको स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटको भनाइ छ । आत्तिने र मात्तिने बानीमा नियन्त्रण राख्दै लगानीकर्ताहरुले संयम भएरै कम्पनीबारे राम्रो विश्लेषण गरेर मात्रै लगानी गर्न उनले जोड दिए ।
नेपालको सेयर बजारमा करेक्सनको मापदण्ड नभएको उल्लेख गर्दै संस्थागत लगानीकर्ताहरुको बिक्रीको बाढी आएकोले बजार ठूलो करेक्सन मोडमा गएको सक्रिय लगानीकर्ता हरेराम घिमिरे जिकिर गर्छन् । ब्रोकरहरु कमिसनमुखी हुनु र बजार विकास तथा विस्तारमा नियामक सेबोन र नेप्से पनि कमिसनमुखी बन्नुले पनि सेयर बजार अस्थिर भएको उनको ठम्याइ छ ।
कोरोनाको त्रास देखाउँदै बजार घटाउने षड्यन्त्र केही गिरोहको योजना सफल भएको उनको आरोप छ । तर्साएर सस्तोमा सेयर उठाएर महङ्गोमा भोलि सेयर भिडाएर सोझा र साना लगानीकर्ताहरुलाई फसाउने काम भएको उनको भनाइ छ । हिजोआजको करेक्सन अस्वभाविक र अमर्यादित भएको उनको बुझाइ छ ।
ब्रोकरहरुको दादागिरी कायमै हुनु र लगानीकर्ताहरुलाई कमिसन लिने मात्रै काम भइरहेको, तर सेवासुविधाबाट बञ्चित गराइएकाले समेत अविलम्ब बैंंकलाई ब्रोकर लाइसेन्स वा संस्थागत ब्रोकरको अभ्यास गर्नुपर्ने उनको भनाइ छ ।
सेबोन र नेप्से पनि कमिसन मात्र खाने र बजारको विकास र लगानीकर्ताको हकहितका लागि कुनै पहल नभएको उनको गुनासो छ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेल भन्छन्–‘बजार घट्न थालेपछि सबैभन्दा न्यून विन्दू र बढ्न थालेपछि सबैभन्दा उच्च विन्दू हेर्ने प्रवृत्ति लगानीकर्ताको लागि कहिल्यै फलदायी हुँदैन ।’
दवाब समूहका अध्यक्ष हरि ढकाल बजार घटाउने चलखेल भइरहेकोले आफ्नो सम्पत्तिको सुरक्षा आफैं गर्न लगानीकर्ताहरुलाई आग्रह गर्छन् । कसैले बेच्न उक्साइरहेका छन् भने सचेत लगानीकर्ता बन्दै खरिदबिक्रीको निर्णयको उक्साहटमा नलाग्न आग्रह गर्दै संयमित र धैर्यवान बन्न सुझाए । साथै छोटो अवधिमा भएको नेप्से परिसूचकको गिरावटमा अत्तालिँदा बजार फर्केपछि पछुतो हुनसक्ने उनको भनाइ छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago