काठमाण्डौ । कारोबार सुरु भएको एकघण्टाभित्र बजार ४ प्रतिशतले घटेपछि सर्किट लागेको मंगलबारको बजारमा पुनः दोश्रो सर्किट लागेको छ ।
पहिलो सर्किट लगाई २० मिनेटका लागि स्थगित कारोबार पुनः सुरु भएको ११ मिनेटमै नेप्से परिसूचकमा ५ प्रतिशतको गिरावट आएपछि पुनः दोश्रो सर्किट लागेको हो ।
दोश्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ ।
अब ४० मिनेटपछि खुल्ने बजारमा गिरावट निरन्तर भयो र ६ प्रतिशतले नेप्से घट्यो भने आज दिनभरको कारोबार स्थगित हुनेछ ।
बजारमा दोश्रो सर्किट लाग्दासम्म सबै समूहका उपसूचकमा पहिरोको अवस्था देखिएको छ ।
यो बेलासम्म नेप्से ७२.०३ अंकले घटेर १३६३.६६ को विन्दूमा सीमित हुन पुगेको छ ।
यो बेलासम्म ९१ करोड ८० लाख बढीको कारोबार भइसकेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूहमा ७.२८ प्रतिशतको पहिरो गइसकेको छ । यस्तै, होटल समूहमा ६.८२ प्रतिशत, बैंकिङ समूहमा ५.५४ प्रतिशत, व्यापार समूहमा ६.३५, विकास बैंक समूहमा ४.१७ र निर्जीवन बिमा समूहमा ५ प्रतिशतको पहिरो गइसकेको छ ।
बाँकी अन्य समूहका उपसूचकमा पनि भारी गिरावट देखिएको छ ।
यो बेलासम्म एलआइसी नेपाल र मञ्जुश्री फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागिसकेको छ ।
सूर्या लाइफ इन्स्योरेन्स र नेपाल एसबीआई बैंकको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटिसकेको छ भने ग्लोबल आइएमई लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, मेगा बैंक र नाडेप लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटिसकेको छ।
कतिबेला लाग्छ नेगेटिभ सर्किट ?
सेयर बजार परिसूचक(नेप्से)मा कारोबार सुरु भएपछि भीषण पहिरो गयो भने गिरावटको प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाई बजारलाई नियन्त्रण गर्ने परिपाटी चलिआएको छ ।
नेप्सेले कुनै पनि कारोबार दिनमा बजार खुलेको पहिलो एकघण्टाभित्र बजार परिसूचक(नेप्से इण्डेक्स) ४ प्रतिशतले घट्यो भने सर्किट लगाई २० मिनेटका कारोबार रोक्ने गर्दछ ।
बजार खुलेको दोश्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ । र, त्यसपछि पनि गिरावटको क्रम निरन्तर रह्यो र बजार ६ प्रतिशतले घट्यो भने कारोबार रोकी सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19