काठमाण्डौ । करिब १८ अंकले बढेको बजार बन्द हुने बेलामा भने ३.३५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको छ ।
सोमबार नेप्से परिसूचकमा केही दिनदेखि जारी अत्यासलाग्दो गिरावट रोकिई बढोत्तरीको क्रम सुरु भएको देखिएको हो ।
यो दिन बजार खुलेपछि केही समय घटे पनि त्यसपछि भने बजार बढेको थियो । बढ्ने घट्ने क्रमसँग सँगै कतिपय राम्रा कम्पनीको सेयर मूल्यमा तीव्र मोलमोलाई चलेको थियो ।
राम्रो वित्तीय अवस्था भएका र उच्च सेयर मूल्य भएका कम्पनीमा कारोबार अवधिभर तीव्र घटबढको प्रवृति देखियो ।
नेप्से परिसूचकमा सुधार भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर १ अर्ब ६१ करोडमा सीमित बन्न पुगेको छ ।
यसरी हेर्दा आइतबारजस्तो बजारमा उच्च बिक्री चाप देखिएन । लगानीकर्ताले सेयर बिक्रीमा देखाएको हतारो सोमबारदेखि भने बन्द भएको संकेत मिलेको ब्रोकरहरु बताउँछन् । सोमबार लगानीकर्ताहरुले राम्रा र बलिया कम्पनीको सेयर छानी छानी खरीदमै ध्यान दिनुले समेत बजार घटेर न्यून विन्दूमा पुगेको बेलालाई खरीदको अवसरको रुपमा लगानीकर्ताहरुले उपयोग गर्न खोजेका देखिने जानकार बताउँछन् । सोमबारकै बजारको झिनो बढोत्तरीकै कारण अबका दिनमा बजार बढ्छ भन्न नसकिने, तर प्रवृति यस्तै केही दिनसम्म जारी रहेमा बजारमा बढोत्तरीको क्रम केही दिनसम्म चल्नसक्ने भनी प्रक्षेपण गर्न सकिने विश्लेषकहरु बताउँछन् ।
विश्लेषकहरुले बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर लगातार घटाइरहेका, कर्जायोग्य रकमको अभाव खासै नरहेको, विश्व सेयर बजारमा तीव्र प्रभाव पार्ने कोरोना भाइरसका संक्रमित हालसम्म फेला नपरेको लगायतका कारण प्रस्तुत गर्दै बजार घट्नुपर्ने कुनै कारण नै नरहेको बताइरहेका छन् ।
कतिपयले त अहिलेको बजार ब्रोकरहरुले सुनियोजित ढंगले घटाइरहेका संगीन आरोप समेत लगाउने गरेका छन् ।
धितोपत्र बोर्डले कारोबारको अवधि एकघण्टाले बढाई ५ घण्टा बनाएपछि यसबाट कारोबार बढ्ने र धेरै कारोबार हुँदा आफूहरुले खाईपाई आएको कमिसन घटाउनुपर्ने माग घनिभूत रुपमा उठ्ने भएकोले यसलाई साबिककै ४ घण्टामा सीमित गर्नुपर्ने भन्दै ब्रोकरहरुले तीव्र प्रयास गरिरहेका छन् ।
कारोबार अवधि बढाउने धितोपत्र बोर्डको नीतिलाई उनीहरुले भित्रभित्रै असहयोग समेत गरिरहेका लगानीकर्ताका नेता बताउँछन् । उनीहरुले कतिपय ब्रोकरले आफूहरुलाई बोलाएर कारोबार समय साबिककै बनाउने गरी दवाब सिर्जना गर्नुपर्यो भनी सहयोग मागेको विषयले समेत यो पुष्टि गर्छ ।
पछिल्लो समय धितोपत्र बोर्ड जुनसुकै मूल्य चुकाएर भए पनि ब्रोकर कमिसन घटाउने तयारीमा छ । यो सूइँको पाएर समेत कतिपय ब्रोकरले बजार घटाउन चलखेल गरिरहेका आरोप लाग्दै आएको छ ।
यस्तै, नेप्सेले गोप्य रुपमा ५० वटा ब्रोकरहरुको संख्या बढाएर १०० पुर्याउने विषय बाहिरिएपछि हालका ब्रोकरहरुले नेप्सेलाई असहयोग गर्न समेत बजार सुनियोजित रुपमा घटाइरहेका आशंकाहरु उठेका छन् ।
अझ पछिल्लो समयमा त बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा संघीय संसदको अर्थसमितिबाट गठित उपसमिति सकारात्मक बनेको र सोही खालको प्रतिवेदन बनिरहेको विषयले समेत ब्रोकरहरुको निद्रा खराब गरिदिएको छ । यसकारण समेत उनीहरु जानाजान बजार प्रभावित पार्ने खेलमा लागेका आरोपहरु आइरहेका छन् । तर, ब्रोकरहरुले भने यस्ता आरोपहरु आधारहीन रहेका भन्दै खण्डन गर्ने गरेका छन् ।
यसरी हेर्दा विविध कारणले घटिरहेको बजारमा सोमबार थोरै भए पनि राहात हुने गरी नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ को विन्दूमा फर्किएको छ ।
राम्रा र बलिया कम्पनीको सेयरमा थोरै भए पनि खरीद चाप बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२६ अंकको बढोत्तरी देखिएको छ ।
यो दिन तीन समूहको उपसूचकमा रातो पोतिए पनि बाँकी सबै समूहको उपसूचक हराभरा भए ।
होटल्स समूह ८.०५ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहमा ५२ अंक र म्युचुअल फण्ड समूहमा ०.११ अंकको गिरावट देखियो ।
बैंकिंग समूह १.१ अंकले बढेको यो दिन व्यापार समूहमा २.४८ अंक, विकास बैंक समूहमा ८.२५ अंक, जलविद्युत समूहमा १.१२ अंक, बित्त समूहमा ३.६९ अंक, निर्जीवन बिमा समूहमा ५३.८४ अंक, जीवन बिमा समूहमा ४८.७८ अंक, माइक्रोफाइनान्स समूहमा २३.२२ अंक र अन्य समूहमा ३.६३ अंकको बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८० कम्पनीका ४१ लाख ९१ हजार ४१५ कित्ता सेयर १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ रुपैयाँमा किनबेच भए ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ४० लाख बढीको सेयर किनबेच भयो ।
एनआइसी एशिया बैंकको १२ करोड ८१ लाख बढीको सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ९ करोड ६६ लाख, हिमालय डिस्टीलरीले ४ करोड १७ लाख, नवील बैंकले ४ करोड १३ लाख, नागरिक लगानीकोषले ३ करोड ७५ लाख, नेको इन्स्योरेन्सले ३ करोड ४९ लाख, ग्लोबल आइएमई बैंकले ३ करोड ४७ लाख, शिवम सिमेन्टले ३ करोड ४५ लाख र छिमेक लघुवित्तले ३ करोड २० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सिभिल लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्यमा समेत ८.१७ प्रतिशतको बढोत्तरी भयो ।
मितेरी डेभलपमेन्ट बैंकको मूल्य ७.२१ प्रतिशतले बढ्यो ।
यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशतले घट्यो । नेपाल सेवा लघुवित्तको सेयर मूल्यमा ५.३५ प्रतिशतको गिरावट आयो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19