काठमाण्डौ । बाढीपहिरोले देशभरि उधुम मच्चाइरहेकै बेला आज बुधबार पनि सेयर बजार दोहोरो अंकको गिरावटसँगै बन्द हुन पुगेको छ।
साताको चैथो दिन बुधबार नेप्से परिसूचकमा केही दिनयतादेखि देखिएको दोहोरो अंकको गिरावटले निरन्तरता पायो। सेयर बजारको सञ्जीवनी मानिने मौद्रिक नीतिमा भएको बजारमैत्री व्यवस्थाले गर्दा गत साता नै भारी परिमाणमा सेयर किनेर बसेको टाठाबाठाले सेयरको आपूर्ति यो साताको सोमबारदेखि नै बढाएर प्रफिट बुक गरे। ह्वारह्वार्ती अप्राकृतिक रुपमा बजार बढाएर उच्च विन्दुमा सेयर सोझासाझा लगानीकर्तालाई भिडाउने चलन बजारको मुख्य विशेषता नै हो। फलस्वरुप एकै सातामा १५० अंकको वृद्धिमा खेल्न सेयर खेलाडीहरुलाई सहयोग पुगेको विश्लेषकहरु बताउँछन्।
कोरोनाले थिलथिलो बनाएको अर्थतन्त्रलाई मौद्रिक नीतिले केही हदसम्म सम्बोधन गरे पनि समग्र सूचीकृत कम्पनीहरुको प्रतिफल यो वर्ष प्रभावित हुने देखिएको जानकारहरु बताउँछन्। उसो त बजारमा पछिल्लो समय लगानीकर्ताले नेप्से परिसूचकमा वृद्धि हुँदामात्र पैसा ओइराउने र नेप्से परिसूचक स्थिर हुँदा लगानीकर्ताको मनोबल प्रभावित हुँदा नेप्से परिसूचकको ओरालो यात्रामा दैनिक कारोबार रकममा समेत गिरावटको क्रम जारी छ।
आज नेप्से परिसूचक १७.५० अंकको गिरावटसँगै १४३२.४४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीहरुका सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.९० अंकको गिरावटसँगै ३०३.१४ अंकको विन्दुमा सीमित बनेको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी १० समूहमा रातो पोतिएको छ।
यो दिन होटेल्स् समूहमा उछाल आएको छ। यो समूहमा १३४.४५ अंकको वृद्धि देखिएको छ भने म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।
आज बैंकिङ समूहमा २१.५१ अंक, व्यापार समूहमा ७.९४ अंक, विकास बैंक समूहमा ३.८३ अंक, जलविद्युत् समूहमा १३.०३ अंक, वित्त समूहमा ७.१६ अंक, निर्जीवन बीमा समूहमा ५.५४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.९५ अंक, अन्य समूहमा १४.३४ अंक, लघुवित्त समूहमा १५.१ अंक र जीवन बीमा समूहमा ७१.६ अंकको गिरावट देखिएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँमा कारोबार भयो।
यो दिन एनआईसी एसिया लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो। एनआईसी एसिया लघुवित्तले १८ करोड १५ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार गरे।
यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ९२ लाख रुपैयाँ, एनएमबी बैंकले ८ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड १३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ४ करोड ८५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको ४ करोड ७० लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ४१ लाख रुपैयाँ र एभरेस्ट बैंकको २ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भयो।
धेरै कमाउने र गुमाउनेहरु
आज दुई कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो। ओरियन्टल होटेल्सको सेयरमूल्य १० प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्यमा ९.९५ अंकको बढोत्तरी भयो। यो दिन सोल्टी होटेलको सेयरमूल्यमा पनि साढे ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
आज नेपाल सेवा लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो संस्थाको सेयरमूल्यमा झन्डै ९ प्रतिशतको हाराहारीमा गिरावट देखियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago