काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। आज कारोबार रकम भने पौने ३ अर्ब रुपैयाँ बढी भएको छ।

आज नेप्से परिसूचक ४.४७ अंकले ओरालो लाग्दै १६३६.१७ को विन्दुमा सीमित बनेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१४ अंकले घट्दै ३२४.३६ को विन्दुमा झरेको छ।

यो साताभरि नै परिसूचकमा झिनो उत्तारचढाव हुँदा बजारमा खासै उत्साह आउन सकेन। हाइड्रो, बैंकहुँदै लघुवित्त केही दिन चलमाए पनि पछिल्लो समय कुन सेक्टर अब चलाउने अन्योलता कायम रहेकाले समेत बजार साइडवेजमा गएको स्टक ब्रोकरहरुको भनाइ छ।

नाफा बुक गरी नजिकिँदै गरेको तिहारपछि मात्र बजारमा सक्रिय हुने योजनामा रहेका समूहहरु पछिल्लो समय धितोपत्र किनबेचमा खासै सक्रिय नभएकाले समेत बजारमा ठूलो उत्तारचढाव नआएको विश्लेषकहरुको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ४ वटामा मात्र हरियाली छायो भने बाँकी ८ वटामा रातो पोतिएको छ।

यो दिन सबैभन्दा बढी जलविद्युत् समूह १३.९३ अंकले उकालो लागेको छ। यस्तै विकास बैंक समूह ५.०५ अंक, होटेल्स् समूह ४.८६ अंक र जीवन बीमा समूह १.३५ अंकले बढेका छन्।

आज व्यापार समूह सबैभन्दा बढी १९.०३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १६.१८ अंकले घटेको यो दिन बैंकिङ समूहमा ७.९ अंक, वित्त समूहमा ०.२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४.२१ अंक, अन्य समूहमा ०.६७ अंक, लघुवित्तमा १३.३४ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०० कम्पनीका ९१ लाख २३ हजार ८९६ कित्ता सेयर २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँमा कारोबार भएको छ।

यो दिन प्राइम कमर्सियल बैंकको सार्वधिक २० करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको १८ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएकोे आज एभरेस्ट बैंकको १६ करोड ४५ लाख रुपैयाँ, अपी पावरको १४ करोड ३४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड २ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँ, प्रभु बैंकको ७ करोड ३७ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ७ करोड २६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ९७ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ५ करोड ३६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। सानिमा जनरल इन्स्योरेन्स, राइराङ हाइड्रोपावर र गोर्खाज फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन सिन्धु विकास बैंकको सेयरमूल्यमा ९ प्रतिशत बढीको उछाल आएको छ।

आज विशाल बजार कम्पनीको सेयरमूल्यमा सार्वधिक ८.५ प्रतिशतको गिरावट आएको छ। यस्तै शिवश्री हाइड्रोपावरको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा घटेको छ।