काठमाण्डौ । बजारमा आज मंगलबार दोहोरो अंकको करेक्सन आएको छ।
नेप्से परिसूचक आज ५९.७७ अंकको करेक्सनका साथ २४५५.२६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.८३ अंकले ओरालो लागेर ४४३.९३ को विन्दुमा सीमित बनेको छ। यो दिन कारोबार रकम सवा ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आज बजारमा आएको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘आत्तिहाल्नुपर्ने अवस्था छैन, अहिल धैर्यता आवश्यक छ’, उनले भने, ‘जो डराएर अहिले सेयर बेच्छन्, उनीहरु फर्सुदमा पछुताउँछन् किनकि उनीहरुले गुमाउने नै हो।’
छोटो समयमै बजार १२०० बाट २६७३ को विन्दुमा पुगेको उल्लेख गर्दै ढकालले बजार बढ्नेमात्र होइन घट्नु पनि पर्ने बताए। ‘घट्नु–बढ्नु सेयर बजारको सौन्दर्यता नै हो’, उनले भने, ‘सगरमाथाको चुचुरोमा दौडिएर पुग्न सकिँदैन किनकि चुचुरोमा पुग्न सहास र धैर्यता आवश्यक छ, सेयर बजारमा पनि त्यही नै हो।’
ढकालले अहिले पनि बजारमा ७ प्रतिशत ब्याजदरमै पैसा फलाफाल पाइरहेको बताए। ‘बजार ब्याजदर बढ्छ भनेर चलेको हल्ला नितान्त भ्रामकमात्र हो’, उनले भने, ‘अहिले तत्काल ब्याजदर बढ्ने सम्भावना छँदैछैन। बैंकहरु आधार दर चैतमा घट्नेछ।’
बजार जानकार प्रकाश रजैरे बजार ग्राफ र लगानीकर्ता मनोविज्ञानमा चल्ने बताउँछन्। ‘बजार यो उचाइसम्म आइपुग्दा पनि आजभन्दा ठूलठूला करेक्सन व्यहोरेकै हो’, उनले भने, ‘यसलाई अवसरका रुपमा लिनुपर्छ, आत्तिहाल्नुहुँदैन।’
विगतमा चाडपर्वपछि बजार घट्दै यो समयमा बजार बढेको उल्लेख गर्दै रजौरेले अहिले त्यसको विपरीत भएर बजार अफ सिजनमा बढेको बताए। ‘त्यसैले बजार बढिरहेकै अवस्थामा करेक्सन आउनु स्वाभाविक हो’, उनले भने, ‘मार्चमा पनि बजार केही करेक्सन आउन सक्छ।’
बजारमा प्रवेश गरेका लगानीकर्ताहरुलाई नआत्तिन सुझाव दिँदै उनले भने, ‘अहिलेको अवस्थामा बजारमा घटाइ र बढाइको क्रम चल्दै जान्छ, जुन अन्तिम होइन।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूह २७८.४९ अंकले बढ्दा होटेल तथा पर्यटन समूहमा १६.८६ अंकको बढोत्तरी भएको छ।
आज जीवन बीमा समूह सर्वाधिक ५१९.६७ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ३४३.५७ अंकले घटेको यो दिन बैंकिङ समूहमा ४५.५५ अंक, विकास बैंक समूहमा ६०.५५ अंक, जलविद्युत् समूहमा ४०.९९ अंक, वित्त समूहमा २२.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५०.४८ अंक, अन्य समूहमा ४३.२३ अंक, लघुवित्त समूहमा ११२.०८ अंक, म्युचुअल फन्ड समूहमा ०.२१ अंक र लगानी समूहमा १.९१ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन एसियन लाइफ इन्स्योरेन्सको सर्वाधिक २८ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २५ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बैंकको २२ करोड ६९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २१ करोड ६९ लाख रुपैयाँ, कुमारी बैंकको २० करोड ४८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सबाट २० करोड २३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १७ करोड ७९ लाख रुपैयाँ, नबिल बैंकको १७ करोड ५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ५९ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको १५ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। या दिन हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago