काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

आज नेप्से परिसूचकमा ३९.२३ अंकको करेक्सन आएको हो। योसँगै आज परिसूचक २४१६ को विन्दुमा झरेको छ। आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१२ अंकले घटेर ४३६.८० को विन्दुमा समेटिएको छ।

आज कारोबार रकम सवा ६ अर्ब बढी रुपैयाँको भएको छ।

पूर्वबैंकर तथा विश्लेषक अनलराज भट्टराईले बजारमा तीव्रगतिको बढोत्तरी भएकोले १–२ करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन। ‘यो बजारको स्वाभाविक मुभमेन्ट हो’, उनले भने, ‘कारोबार ६ अर्बभन्दा माथि नै भइरहेकोले निराश भइहाल्नुपर्ने अवस्था छैन।’

भट्टराईले चैत मसान्तमा बैंकहरुको तेस्रो त्रैमासमा राम्रै वित्तीय विवरण आउन सक्ने देखिएको छ। ‘बजार बुलिस ट्रेन्डमै छ’, उनले भने, ‘सेयर सकभर किन्नु नत्र होल्ड गरेर राख्दा राम्रै हुन्छ। आत्तिएर बेचिहाल्नुपर्ने अवस्था छैन।’

बजार आज २४०० विन्दु तल पुगेर पुनः फर्किएकोले आगामी दिनमा माथि नै जान्छ भन्ने आशा पलाएको पनि भट्टराईले बताए। ‘यो विन्दु भनेको बाई पिक हो’, उनले भने, ‘यो साता करेक्सनमा सेयर किन्ने अवसर थियो, जसले किने उनीहरुले फाइदामै रहनेछन्।’

बजार जानकार मेघनाथ निरौलाका अनुसार अहिले बजारमा इन्भेस्टरभन्दा पनि ट्रेडर उच्च हावी भएको देखियो। ‘राजनीतिक परिस्थिति र बैंक ब्याजदर बढ्ने हल्लाले पनि साना र नयाँ लगानीकर्ताहरु आत्तिएको अवस्था देखियो’, उनले भने, ‘अब बजार फर्किएर पुनः २७०० को विन्दुभन्दा माथि नै जानेछ।’

अन्य क्षेत्रको मूल्य बढे पनि बैंक तथा हाइड्रोको मूल्य नबढेको उल्लेख गर्दै निरौलाले भने, ‘सस्ता र राम्रा कम्पनीका सेयरहरु यतिबेला किनेर होल्ड गर्न सके फाइदा नै हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक ३०६.५४ अंकले उकालो लाग्यो भने होटेल तथा पर्यटन समूह ३५.१७ अंकले बढेको छ। 

यो दिन जीवन बीमा समूह सबैभन्दा बढी ४५२.५३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १६७.८८ अंकले घट्दा बैंकिङ समूहमा १७.३ अंक, विकास बैंक समूहमा ३२.६८ अंक, जलविद्युत् समूहमा २०.३२ अंक, वित्त समूहमा १२.३२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८७.५८ अंक, अन्य समूहमा ८४.३५ अंक, लघुवित्त समूहमा ५६.४३ अंक, म्युचुअल फन्ड समूहमा ०.१३ अंक र लगानी समूहमा २.२६ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल टेलिकमको सर्वाधिक २९ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एसियन लाइफ इन्स्योरेन्सको २८ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ६७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २४ करोड २७ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २२ करोड ३३ लाख रुपैयाँ, निफ्राको २१ करोड ७५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २१ करोड ३४ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १८ करोड ३१ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १७ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज दुई कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। यो दिन साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको छ। आज हिमालयन पावर पार्टनरको सेयरमूल्य पनि ८ प्रतिशत बढीले उकालो लागेको छ। 
यो दिन एसियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।