काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारले आकर्षक बाउन्सब्याक गरेको छ। लगातार करेक्सन हुँदै आएको बजारमा आज हरियाली छाएको छ। 

आज परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंकले बढेर ४५१.४६ को उचाइमा पुगेको छ। कारोबार रकम भने घटेर ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियाले बजारमा चलेका हल्लाका कारण उत्पन्न अन्यौलतालाई चिर्दै बजार आज बाउन्सब्याक भएको बताए। ‘तलरतामा दबाब परेसँग ब्याजदर अब बढ्छ भन्ने बजारमा निकै हल्ला चलेको थियोे’, उनले भने, ‘आजको बढाइले ब्याजदर बढ्ने हल्ला निराधार रहेको पुष्टि गरेको छ।’

राजनीतिक घटनामा सुधार हुँदै गर्दा लगानीकर्तामा उच्च मनोबल सिर्जना हुँदा बजार उकालो लागेको रौनियारको तर्क छ। ‘आज बजारले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने कुरा घामजस्तै छर्लङ भएको छ’, उनले भने, ‘अब बजार बढ्ने नै हो, सानातिना करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन।’

हल्लाका पछाडि लागेर यो साता सेयर बेच्नेहरु आजको बजारको नतिजाले पछुताउनुबाहेक अन्य विकल्प नरहेको रौनियारले बताए। ‘बजारले खरिदको अवसर दिएकै थियो तर सोझासीधा लगानीकर्ताहरुले धमाधम सेयर बेचे’, उनले भने, ‘टाठाबाठाले उठाए। जसले होल्ड गरे उनीहरुले पनि कमाए।’

बढ्दो बजारमा आत्तिएर सेयर बेच्नुभन्दा पनि सकभर राम्रा र बलिया कम्पनीका सेयर किन्नुपर्ने र जतिसक्दो होल्ड गर्न सके लगानीकर्ताहरुलाई फाइदैफाइदा हुने रौनियारको सुझाव छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले आज बजार बढ्नु स्वाभाविकै भएको बताए। ‘बजारमा केही दिन करेक्सन आइसकेको थियो, आज बजार बढ्नैपर्ने थियो र बढ्यो पनि’, उनले भने, ‘सेयर बजार घट्नु र बढ्नु स्वभाविक प्रक्रिया नै हो।’

बजारमा करेक्सन आउँदा सेयर किन्ने अवसर सिर्जना भएको घिमिरेले पनि बताए। ‘देश–विदेशमा रहेका नेपालीहरुले बजारमा करेक्सन आउँदा ठूला परिमाणमा सेयर उठाएका छन्’, उनले भने, ‘तर केही लगानीकर्ताहरु हल्लाको पछाडि लागेर सेयर बेचे, उनीहरुले कमाउने अवसर गुमाए।’

आज सरकारले विप्लव समूहलाई पनि राजनीतिक मूलधारमा ल्याउन सफल भएको उल्लेख गर्दै घिमिरेले यसले पनि बजार बढ्नमा केही हदसम्म सहयोग गरेको देखिने बताउँछन्। ‘आजको बढाइले अब बजार माथि नै जाने संकेत गर्छ’, उनले भने, ‘तर कतिसम्म माथि जान्छ भन्ने कुरा भविष्यले नै देखाउनेछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। जीवन बीमा समूह सर्वाधिक ५७१.९५ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३२४.४६ अंकले बढेको यो दिन बैंकिङ समूहमा ५२.०४ अंक, व्यापार समूहमा २५६.७१ अंक, होटेल तथा पर्यटन समूहमा ६४.८७ अंक, विकास बैंक समूहमा ६१.९९ अंक, जलविद्युत् समूहमा ९१.१९ अंक, वित्त समूहमा ३१.०१ अंक, उत्पादन तथा प्रशोधन समूहमा १९०.६८ अंक, अन्य समूहमा १०३.८७ अंक, लघुवित्त समूहमा २०९.०६ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा ४.९१ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन निफ्राको सर्वाधिक ५३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको २४ करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २० करोड १७ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ८३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका १७ करोड ९६ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १७ करोड ४४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ९७ लाख रुपैयाँ, नेपाल बैंकको १५ करोड ९० लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ८४ लाख रुपैयाँ र प्रभु बैंकको १३ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत तथा किसान लघुवित्त, इन्फिनिटी लघुवित्त र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। आय श्री इन्भेस्टमेन्ट फाइनान्स, नेसनल हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज एनएमबी फिप्टीका इकाइधनीहरुले धेरै गुमाए। यसको इकाइ मूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।