काठमाण्डौ । लगातार ५ दिनको घटेको बजारले आज मंगलबार गतिलो बाउन्सब्याक गरेको छ। 

नियामक नेपाल धितोपत्र बोर्डले ‘जोखिमयुक्त’ भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेसँगै बजारमा लगातार गिरावट आएको थियो। गत साता मंगलबारदेखि घट्न थालेको बजारमा यो साता सोमबारसम्म पनि माथि उठ्न सकेको थिए। यो अवधिमा १९१ अंकले ओरालो लागेको थियो। 

आज बाउन्सब्याक भएको बजार ७९.४३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २९१३.८४ अंकको विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.११ अंकले बढ्दै ५३६.२५ को उचाइमा पुगेको छ।

आज बजारमा सवा १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट बजार छोटो समयमै धेरै बढेको केही दिन करेक्सन आएको बताउँछन्। ‘केही दिनयताको करेक्सन प्राकृतिक रहेको आजको बजार बढाइले पुष्टि गरेको छ’, उनले भने, ‘बजार अब माथि जान्न, नियामकको कदमले बर्बाद भयो भन्ने हल्ला थियो, जुन हल्लामै सीमित बनेको छ।’

नियामकको पछिल्लो कदमले नयाँ र साना लगानीकर्ताले आत्तिएर सेयर बेच्दा बजारमा केही दिन करेक्सन आएको बिष्टको बुझाइ छ। ‘विदेशमा बसेर लगानी गर्नेहरुले पनि धमाधम सेयर बेचे’, उनले भने, ‘बजार घटबढ हुन्छ तर घटेको बजारबाट सेयर उठाउनेहरु मालामाल बन्छन्, बेच्नेहरु पछुताउँछन्।’

यो असार मसान्तसम्म बजार ३००० को विन्दु आसपास नै रहेको बिष्टको अनुमान छ। ‘अबको मौद्रिक नीतिले बजार आगामी यात्रा तय गर्ला’, उनले भने, ‘तर मौद्रिक नीति पनि सकारात्मक नै आउने आशा छ, त्यसैले बजार लयमै रहने देख्छु।’

सक्रिय लगानीकर्ताको मत अलि भिन्न छ। ‘धितोपत्र बोर्डकै कारण बजार घटेको हो भन्ने मलाई लाग्दैन’, उनी भन्छन्, ‘यदि त्यसो हो भने आज फेरि कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयरमै लगानीकर्ता झुम्मिने थिएनन्, सुरक्षित कम्पनीमा लगानी गर्थे तर त्यसो भएन।’

आज बजार बाउन्सब्याक भए पनि दिगोपन नदिएको न्यौपाने बताउँछन्। यद्यपि बुलिस बजारमा ठूलो हलचल हुने भएकोले सुरक्षित र बलिया कम्पनीमा लगानी गर्न उनले सुझाव दिए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक र वित्त समूहमा सर्वाधिक बढोत्तरी भएको छ। यो दुवै समूहमा ५.७७ प्रतिशतको बढोत्तरी भएको छ। जलविद्युत समूह ५.४७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२८ प्रतिशत, लगानी समूहमा ४.२६ प्रतिशत, जीवन बीमा समूहमा २.२० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६० प्रतिशत, अन्य समूहमा १.५३ प्रतिशत र व्यापार समूहमा ०.५७ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँमा किनबेच भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। एचआईडीसीएलको ३२ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको २६ करोड ३४ लाख रुपैयाँ, निफ्राको २० करोड ७३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १६ करोड ९७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १६ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १६ करोड ७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ७४ लाख रुपैयाँ र मेगा बैंकको १५ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २९ वटा कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। ५ वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशत र २४ वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

१० प्रतिशतले बढेका कम्पनीहरु

  • जानकी फाइनान्स
  • बरुण हाइड्रोपावर
  • एचआईडीसीएल
  • ङादी ग्रुप पावर
  • पञ्चकन्या माई हाइड्रोपावर 

१० प्रतिशतको हाराहारीले बढेका कम्पनीहरु

  • राधी विद्युत कम्पनी
  • जोशी हाइड्रोपावर
  • कालिका पावर
  • युनियन हाइड्रोपावर
  • घलेम्दी हाइड्रोपावर
  • खानीखोला हाइड्रोपावर
  • हिमालयन पावर पार्टनर
  • लिबर्टी इनर्जी
  • दिव्यश्वरी हाइड्रोपावर
  • गुहेश्वरी मर्चेन्ट बैंक
  • हिमालयन ऊर्जा विकास
  • युनाइटेड मोदी हाइड्रोपावर
  • बेस्ट फाइनान्स
  • शिवश्री हाइड्रोपावर
  • हिमाल दोलखा हाइड्रोपावर
  • सिनर्जी पावर डेभलपमेन्ट
  • छ्याङ्दी हाइड्रोपावर
  • सेन्ट्रल फाइनान्स
  • समृद्धि फाइनान्स
  • नेसनल हाइड्रोपावर
  • नेपाल हाइड्रो डेभलपर्स
  • युनिभर्सल पावर
  • आँखुखोला जलविद्युत
  • ग्रिन डेभलपमेन्ट बैंक

आज अपी पावर, माउन्टेन हाइड्रो, प्रोग्रेसिभ फाइनान्स र रिलायन्स फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गोर्खाज फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।