काठमाण्डौ । लामो समयसम्म अर्थमन्त्रालयको बागडोर सम्हालेका कांग्रेस नेता तथा अर्थशास्त्री डा. रामशरण महतले नेपालको सेयर बजारको बृद्धि ‘स्वभाविक’ नरहेको दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

उनले नेप्से बढेर जति पुग्यो, त्यो नर्मलभन्दा निकै माथि रहेको समेत बताए । ‘नेप्से जति बढ्यो, त्यो नर्मल अवस्थाभन्दा निकै माथि बढेको हो ।’ उनले भने–‘बैंकहरु सेयर धितोकर्जा प्रवाहमा आक्रामक बन्दा बजार बढ्न सहयोग भएको मैले पाएको छु ।’ 

उनले पूँजीबजारको वृद्धि दिगो बन्नका लागि नयाँ लगानी आउनुपर्ने र सेकेण्डरी मार्केटमा फेयर लगानीहरु भित्रिनुपर्ने सुझाव समेत दिए । ‘भएकै सेयर र लगानीमा बढी खेल भइरहेको छ ।’ उनले भने–‘नयाँ लगानी वृद्धि हुनुपर्छ ।’ 

पूर्व अर्थमन्त्री डा. महतले चालु र वितरणमुखी खर्च बढेर पूँजीगत खर्च कम हुँदा अर्थतन्त्र समस्यामा फस्दै गएको दाबी समेत गरे । ‘चालु खर्च निकै बढेको छ । पूँजीगत खर्च कम भएको छ । जहाँ खर्च भएको छ, त्यहाँ दक्षतापूर्वक पनि भएको छैन ।’ उनले भने–‘सरकारले पूँजीगत खर्च दक्षतापूर्वक गर्नुपर्छ । बजेट कार्यान्वयन क्षमता पनि बढाउनुपर्छ ।  प्रशासनिक र वितरणवादी खर्च घटाउनुपर्छ ।’ 

सरकारले ठूलो बजेट बनाएको र सामान्य सिद्धान्तभन्दा अधिक आन्तरिक ऋण उठाउँदा यसले निजी क्षेत्रलाई समस्यामा पारेको उनले तर्क गरे ।

‘सामान्यतया जीडीपीको २ प्रतिशतसम्म मात्र आन्तरिक ऋण लिनुपर्छ भन्ने सिद्धान्त हुन्छ ।’ उनले भने–‘अहिलेको सरकारले जीडीपीको ५ प्रतिशत बढी आन्तरिक ऋण उठाउन थालेको छ, यो गलत नीति हो । यसले भावी पुस्तालाई वित्तीय बोझ बढाइदिएको छ ।’  

आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको कार्यशैलीको आलोचना गर्दै डा. महतले निजी क्षेत्रका लागि लिवरल नीति नआएकोमा असन्तुष्टि व्यक्त गरे । ‘सरकारले नै ऋण लिन थालेपछि निजी क्षेत्रलाई आवश्यक तरलता उपलब्ध हुँदैन । अहिले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव हुने एउटा कारण यो पनि हो ।’ उनले थपे–‘सरकारले कार्यशैलीलाई सुधार गर्नुपर्ने देखिन्छ । ऋण वृद्धि गर्ने होइन, वितरणवादी क्षेत्रमा बढी खर्च गर्ने प्रवृति नियन्त्रण गर्नुपर्छ ।’ 

उनले संसोधित बजेटको आकार समेत ठूलो भएको र यसलाई घटाउनुपर्ने सुझाव समेत दिए । 

‘लक्ष्य ठूला राखिए पनि पूरा भएनन् । अहिलेको बजेटको आकार केही घटाएको छ, अझै घटाउनुपर्ने थियो ।’–उनले थपे ।

सरकारको कार्यशैलीका कारण लक्षित आर्थिक वृद्धिदर हासिल हुन कठीन देखिएको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए । 

‘सरकारले नै आन्तरिक ऋण बढाउन थालेपछि निजी क्षेत्रलाई तरलता कम हुन्छ । निजी क्षेत्रको पूँजीगत लगानीको प्रतिफल भन्दा सरकारको लगानीको प्रतिफल कम हुन्छ ।’ डा. महतले भने–‘त्यसकारण आर्थिक वृद्धि गर्नका लागि निजी क्षेत्रको लगानी बढाउन जरुरी छ ।’

सरकारकै गलत नीतिका कारण तरलता अभाव भएको र यो समस्या टार्ने बाहानामा बैंक ब्याजदर बढाइएको उल्लेख गर्दै डा. महतले यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको टिप्पणी गरे । ‘तरलता कम हुँदा ब्याज बढ्यो, जसले सेयर बजारमा जाने पैसा सुरक्षित रिटर्नका लागि भन्दै बैंकमा जाने अवस्था बन्यो ।’ उनले भने–‘ब्याजदर माथि जान थालेपछि लगानी वृद्धि कठीन हुन्छ ।’ 

अडियो सुन्नुहोस् :