काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार उकालो लागेको छ।
आज बजार ५०.३१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५६६.९० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेर ४९३.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला धेरै घटेको आज बजार बढेको बताउँछन्। ‘प्राविधिक रुपमा पनि बजार सपोर्ट लेभलबाटै फर्किएको छ’, उनले भने, ‘मनोवैज्ञानिक रुपमा पनि २५०० बाट बजार फर्किएको देखिन्छ।’
बास्तोला अब जार करिब २०० अंकले माथि जाने संकेत मिलेको बताउँछन्। ‘बजारमा ब्याजदर के होला भन्ने चासोको विषय बनेको छ’, उनले भने, ‘तर, मेरो विचारमा महिनैपिच्छे ब्याजदर बढ्छ जस्तो लाग्दैन।’
अब आधारभूत रुपले पनि सपोर्ट गरेमा बजार माथि नै जाने बास्तोलाको भनाइ छ।
सक्रिय लगानीकर्ता महेश रिजाल पनि धेरै घटेकोले बजार आज फर्किएको बताउँछन्। ‘चैत महिनाको ब्याजदर के होला भन्ने चासो बढेको छ’, उनले भने, ‘राष्ट्र बैंकले हस्ताक्षेप नगर ब्याजदर बढ्न सक्छ।’
विकास खर्च बढ्दै जाँदा र चुनावी महौल तातेसँगै बजार बढ्ने रिजालको भनाइ छ। ‘आज बजारमा मास साइकोलोजीले काम गरेको देखिन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ५.०६ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ४.७९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १ प्रतिशत, व्यापार समूहमा २.३९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४६ प्रतिशत, जलविद्युत समूहमा ४.१२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१२ प्रतिशत, लघुवित्त समूहमा २.०१ प्रतिशत, जीवन बीमा समूहमा २.८८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४६ प्रतिशत र लगानी समूहमा ४.२ प्रतिशतको बढोत्तरी भएको छ।
आज अन्य समूहमा ०.०४ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीका ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९७० रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक १६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १३ करोड १२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एआईसी एसिया बैंकको १२ करोड ४६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड १ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ६३ लाख रुपैयाँ, नेपाल बैंकको ७ करोड ७४ लाख रुपैयाँ, निफ्राको ६ करोड १३ लाख रुपैयाँ, अप्पर तामाकोशीको ५ करोड ९२ लाख रुपैयाँ र शिवम सिमेन्टको ५ करोड ४७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लाग्यो। कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स र प्रोग्रेसिभ फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।
यो दिन माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago