काठमाण्डौ । सेयर बजारको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ।
आज बजार २९.८९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९६६.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.६ अंकले घटेर ३७८.९० को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने बढेर करिब साढे १ अर्ब रुपैयाँको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बजार प्यानिक सेलकै कारण निरन्तर घटिरहेको बताउँछन्। ‘४–१२ को नीतिले बैंकहरुबाट लगानीकर्ताहरुलाई मार्जिन कल आएको छ, लगानीकर्ताहरु अप्ठ्यारो अवस्थामा छन्’, उनले भने, ‘किनकि बैंकले दबाब दिन्छ नै।’
यस्तो परिस्थितिमा नियामकले लगानीकर्ताहरुको समस्या बुझ्नुपर्ने ढकालको भनाइ छ। ‘आमलगानीकर्ता पनि अहिले सेयर बेच्नभन्दा आन्दोलनलाई साथ दिन आवश्यक छ’, उनले भने, ‘यो बेला संयम भएर अगाडि बढ्न पनि म आग्रह गर्छु।’
बजार जानकार सरोज भट्टराई अहिले विश्व आर्थिक मन्दीतर्फ उन्मुख रहेको र नेपालमा पनि आर्थिक संकट देखिएकोले सबैतिरका बजार घटेको बताउँछन्। ‘अहिले तत्काल ब्याजदर घट्ने अवस्था पनि छैन’, उनले भने, ‘तैपनि लगानीकर्ताले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुधारको आश गरेका छन्।’
राष्ट्र बैंकले अन्य वित्तीय उपकरण प्रयोग गरेर कर्जालाई नियन्त्रण गर्नुपर्ने भट्टराईको भनाइ छ। ‘बजारमा तरलता सहज हुने गरी मौद्रिक नीति ल्याइनुपर्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २.५ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह २.४२ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५४ प्रतिशत, विकास बैंक समूहमा १.५६ प्रतिशत, जलविद्युत समूहमा २.३२ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६२ प्रतिशत, अन्य समूहमा ०.०३ प्रतिशत, लघुवित्त समूहमा १.५७ प्रतिशत, जीवन बीमा समूहमा २.०१ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८६ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक १२ करोड १२ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको आज बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४ करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोषको ३ करोड ६७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड ५८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १५ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ९२ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तका सेयरधनीहरु मालामाल भए। यी दुवै लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।
यो दिन बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीहरुले धेरै गुमाए। बलेफीको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा घट्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्यमा ८ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago