काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारमा सेयर बजारमा उछाल आएको छ।
बजार आइतबार ६१.०५ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०७८.५१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले बढेर ३९८.३३ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला आज बजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव परेको बताउँछन्। ‘मौद्रिक नीतिले लगानीकर्ताले खेप्दै आएका चोटमा थोरै मल्हम लगाएको छ’, उनले भने, ‘अब सर्कुलरमार्फत सिंगल अब्लिगरको विषयमा प्रस्ट होला।’
खासगरी बजार आज गभर्नरले ब्याजदर नबढ्ने संकेत गरेकोले पनि बढेको बास्तोलाको भनाइ छ। ‘तरलता पनि केही सहज भएकोले बजार बढ्नमा टेवा पुगेको देखन्छ’, उनले भने।
लगानीकर्तामा अघिल्लोपटकको न्यून विन्दु नै बटम भएको मनोबलका कारण बजार बढेको बास्तोला बताउँछन्।
बजार जानकार महेश रिजाल आज बजार २–३ वटा कारणले बढेको बताउँछन्। ‘बैंकहरुको चौथो त्रैमासको रिपोर्ट राम्रो आउनु, लाभांशको सिजन सुरु हुन लाग्नु र मौद्रिक नीति राम्रो आएकोले बजार बढेको हो’, उनले भने।
दीर्घकालीन रुपमा स्थायित्व हुने खालको नीतिले बजारले लय समातेको रिजालको भनाइ छ।
यो दिन नेप्सेमा उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
आज वित्त समूह सर्वाधिक ७.२२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ६.९३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.६७ प्रतिशत, व्यापार समूहमा ४.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७५ प्रतिशत, विकास बैंक समूहमा ५.१ प्रतिशत, जलविद्युत समूहमा ३.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९४ प्रतिशत, लघुवित्त समूहमा ३.९१ प्रतिशत, जीवन बीमा समूहमा २.१६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१६ प्रतिशत र लगानी समूहमा ३.२१ प्रतिशतको बढोत्तरी भएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ६४ लाख २३ हजार १४६ कम्पनीका २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँमा किनबेच भएको छ।
यो दिन शिवम सिमेन्टको सर्वाधिक ३९ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड २१ लाख रुपैयाँ, अरुण काबेली पावरको ६ करोड १४ लाख रुपैयाँ, प्रभु बैंकको ५ करोड ९४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ५ करोड ५४ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ५ करोड ५ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ५५ लाख रुपैयाँ र आईसीएफसी फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ कम्पनीका सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा स्वावलम्बन लघुवित्त र रिलायन्स फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन शिवश्री इन्भेस्टमेन्ट, बेस्ट फाइनान्स, रिभल फल्स पावर, नेसनल हाइड्रोपावर र ग्रीन भेन्चर्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज युनिलिभरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउमा ०.३८ प्रतिशतको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19