काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ।
दुई घन्टा कारोबार भएको बजार आज १३.०५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१४०.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.८६ अंकले बढेर ४०९.४८ को विन्दुमा उक्लिएको छ। कारोबार रक सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बजार केही समयता आफ्नो लयमा चलिरहेको बताउँछन्। ‘लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाए पनि स्वपुँजीबाट बजार चलेको देखिन्छ’, उनले भने।
सेबोनको नीति तथा कार्यक्रम पनि राम्रै आएको अर्याल बताउँछन्। ‘संसदबाट नागरिकता विधेयक पारित भएसँगै एनआरएनलाई पुँजीबजारमा भित्र्याउने बाटो खुल्ने देखिन्छ’, उनले भने।
अब नकारात्मक विषय नभएकोले बजार माथि नै जाने सम्भावना रहेको अर्याल बताउँछन्। ‘अब ब्याजदर नबढ्ने हो भने बजारले उकालो यात्रा नै तय गर्नेछ’, उनले भने।
सक्रिय लगानीकर्ता विष्णु भुसाल हाल सार्वजनिक भइसकेका बैंक तथा वित्तीय संस्थाहरुको रिपोर्ट राम्रै रहेकोले बजारमा सकारात्मक प्रभाव परेको बताउँछन्। ‘मौद्रिक नीति पनि राम्रै आएकोले बजार बढ्नलाई टेवा पुगेको छ’, उनले भने, ‘अब ब्याजदरले बजारको यात्रा तय गर्नेछ।’
प्राविधिक रुपमा २१५० मा सामना गरिसकेको प्रतिरोधलाई ब्रेक गरेर माथि नै बन्द भएमा बजारले थप उचाइ लिने भुसालको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ४.६१ प्रतिशतले उकालो लागेको छ। होटेल तथा पर्यटन समूह ४.२५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२४ प्रतिशत, व्यापार समूहमा ०.१६ प्रतिशत, वित्त समूहमा ०.९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६५ प्रतिशत, अन्य समूहमा १.५६ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत र लगानी समूहमा ०.८८ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.८२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ०.३७ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.१७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका ५१ लाख ११ हजार ३१० कित्ता सेयर २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नागरिक लगानी कोषको ७ करोड ७९ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६ करोड ८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड ९६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ५ करोड ९४ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ५ करोड ६७ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको ४ करोड ९२ लाख रुपैयाँ, नेपाल टेलिकमको ४ करोड ९० लाख रुपैयाँ र अरुण काबेली पावरको ४ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। यद्यपि मर्जर प्रयोजनका लागि रोक्का रहेको रिलायन्स लाइफको सेयर कारोबारमा आएको विषयमा भने नेप्सेले थप अनुसन्धान गरिरहेको छ। यो कम्पनीको आजको सेयर कारोबार के गर्ने भन्ने विषयमा नेप्सेले निर्णय लिइसकेको छैन।
आज बुद्धभूमि हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago